काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले पहिलो चरणमा आउँदो बुधबार (मंसिर १४ गते)बाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्दैछ। यो आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ८ हजार कित्ता सेयर छुट्याइएको छ।

नेपालको इतिहासमा पहिलो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा कोटा निर्धारण गरिएको हो। पछिल्लो समय मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेसँगै सरकारले विदेशी मुद्रा भित्र्याउने योजनाअन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन)मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयरमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो। जसअनुसार सेबोनले यससम्बन्धी कार्यविधि बनाएर लागू गरिसकेको छ। 

कार्यविधिमा यसरी कोटा छुट्याइएको आईपीओ भर्न रेमिट्यान्स खाताबाट भुक्तानी अनिवार्य गरेको छ। तर, बैंकहरुमा कति रेमिट खाता खोलिएका छन् भन्ने यकिन तथ्यांक न राष्ट्र बैंक छ न त नेपाल बैंकर्स एसोसिएसनसँगै छ। 

सीडीएससीले पनि हालै एउटा सूचना जारी गर्दै आईपीओ भर्न रेमिट्यान्स खाता खोली सीआरएन लिन वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह गरिसकेको छ। तर, अहिलेसम्म सीआरएन नम्बर लिनेको संख्या ३० जना पनि नकटेको सीडीएससीको तथ्यांक छ। 

आईपीओ भर्दा सीआरएन नम्बर अनिवार्य चाहिन्छ। ‘अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा कोटा छुट्याइएको छ’, सीडीएससीका एक अधिकारीले भने, ‘तर रेमिट्यान्स खाताबाट सीआरएन नम्बर लिनेको संख्या ज्यादै न्यून देखिएको छ।’ 

त्यसो त वैदेशिक रोजगारीमा रहेका कमै नेपालीले आईपीओ भर्ने गरेको हुन सक्ने ती एक अधिकारीले बताए। ‘खाडी मुलुकहरु रोजगारीमा रहेको र पहिलेदेखि नै आईपीओ भर्दै आएकाहरुले साधारण बचत खाताबाटै भुक्तानी गर्दै आएको हुन सक्छ’, उनले भने, ‘विकसित मुलुकहरुमा गएकाहरुले भने खासै चासो नदिएको पनि हुन सक्छ।’

नेपालमा रेमिट्यान्स खाता खोल्नेको संख्या निकै कम रहेको एक बैंकरले बताए। ‘त्यसमाथि सेयरमा लगानी त झनै कम होलान्’, ती बैंकरले भने, ‘आईपीओमा कोटा छुट्याइएको र त्यसका लागि रेमिट्यान्स खाता अनिवार्य गरिएको भन्ने विषयमा सम्बन्धित निकायबाट अझै व्यापक प्रचारप्रसार हुन आवश्यक देखिन्छ।’ 

रेमिट्यान्स खाता खोल्नेको संख्या न्यून रहनु र सीआरएन नम्बर लिनेको संख्या झनै कम हुनुले कालिञ्चोक दर्शनको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओमा कम आवेदन पर्न सक्ने देखिन्छ। अर्कोतर्फ थोरै आवेदकलाई धेरै कित्ता पर्ने सम्भावना पनि उत्तिकै छ। 

यो आईपीओमा वैदेशिक रोजगारमिा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्म खरिद आवेदन दिने पाउने व्यवस्था गरिएको छ। यो हिसाबले सर्वसाधारणले गोलाप्रथाबाट मुस्किलले १० कित्ता पाइरहँदा वैदेशिक रोजगारीमा रहेकाहरुले भने ५०० कित्ताभन्दा बढी नै सेयर पाउने देखिन्छ।