काठमाण्डौ ।  काठमाण्डौको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टरहरु आगामी बुधबार (वैशाख १ गते) देखि बन्द हुने भएका छन्। 

बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको काउन्टरमा परिवर्तन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन्। 

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउन्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए। नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउन्टर सञ्चालनमा छन्। टिकट काउन्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउनसमेत उनले यातायात कम्पनीलाई आग्रह गरे। 

बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात आवतजावत हुँदै आएका छन्। काठमाण्डौ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो। 

यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ। प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ संक्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो। ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्थासमेत मिलाएको छ।

 

- RSS