काठमाण्डौ । नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट पनि लगानीकर्ताहरुले वाणिज्य बैंकहरुबाट सेयर धितो कर्जा एकल अंककै ब्याजदरमा पाउने भएका छन्।

विभिन्न वाणिज्य बैंकले वैशाख १ गतेबाट लागू हुने गरी सार्वजनिक गरेको निक्षेप र कर्जाको ब्याजदर हेर्ने हो भने सेयर धितो कर्जा अझै पनि एकल अंककै ब्याजदरमा पाइने देखिएको हो। कोरोना महामारीले अन्य क्षेत्रमा खासै उत्साहजनक नदेखिए पनि सेयर बजारमा भने व्यापक आकर्षण बढेको पाइन्छ। हाल बुलिस ट्रेन्डमा रहेको बजारमा बैंकको सस्तो ब्याजदर लगानीकर्ताहरुको मनोबल झनै बढेको देखिन्छ। 

आज सार्वजनिक कतिपय बैंकको सेयर धितो कर्जाको ब्याजदर १० प्रतिशतभन्दा मुनि नै रहेको पाइएको छ। 

राष्ट्रिय वाणिज्य बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम दरमा सेयर धितो कर्जा दिने भएको छ। यो बैंकको आधार दर ४.०९ प्रतिशत रहेको छ। 

यसैगरी मेगाले पनि ०–४.५ प्रतिशत प्रिमियमै यो कर्जा उपलब्ध गराउने भएको छ। यो बैंकको आधार दर ६.६७ प्रतिशत रहेको छ। 

आधार दर ७.३२ प्रतिशत रहेको नेपाल एसबीआई बैंकले अधिकतममा ५ प्रतिशतसम्म प्रिमियम जोडेर सेयर धितो कर्जा प्रवाह गरिने जनाएको छ। 

त्यस्तै सिद्धार्थ बैंकले ६.९३ प्रतिशत आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम र ७.४९ प्रतिशत आधार दर रहेको कृषि विकास बैंकले अधिकतममा ५ प्रतिशत नै प्रिमियम जोडेर सेयर धितो कर्जा ग्राहकलाई उपलब्ध गराउने भएका छन्। 

एभरेस्ट बैंकले २.७५ देखि ५ प्रतिशत प्रिमियममा सेयर धितो कर्जा दिने भएको छ। यो बैंकको आधार दर ६.२१ प्रतिशत रहेको छ। 

नेपाल बैंकले पनि २.०५ प्रतिशतदेखि ५.०२ प्रतिशत प्रिमियममै यो कर्जा ग्राहकलाई उपलब्ध गराउने भएको छ। नेपाल बैंकको आधार दर ६.१९ प्रतिशत रहेको छ। 

आधार दर ७.६ प्रतिशत रहेको बैंक अफ काठमाण्डूले सेयर धितो कर्जामा अधिकतम ५ प्रतिशत प्रिमियम लिइने जनाएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंकलगायत अन्य बैंकहरुबाट पनि एकल अंककै ब्याजदरमा सेयर धितो कर्जा प्रवाह भइरहेका छन्।