काठमाण्डौ । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी हुने भएको छ। 
 
महासङ्घले आज पत्रकार सम्मेलन गरी हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख २३ देखि २७ गतेसम्म व्यापार मेला तथा हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । 
 
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले स्वदेशी, श्रम, सीप र कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्या‍उन मेला आयोजना गर्न लागेको बताए। 'हस्तकला वस्तुले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमालाई उच्च बनाएको छ,' उनले भने। 

हस्तकलाको निर्यात हाल संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारतलगायत ८० बढी मुलुकमा ५० भन्दा बढी हस्तकलाका वस्तु निर्यात हुँदै आएको छ। महासङ्घका उपाध्यक्ष प्रचण्ड शाक्यले मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती र ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामानलगायत प्रदर्शनी तथा बिक्री गरिने जानकारी दिए। 
 
'मेलाबाट युवालाई विदेशमा रोजगारका लागि जानबाट निरुत्साहित गर्न मद्दत पुग्छ,' उनले भने। महासङ्घले मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी समुन्नत बनाउने, मौलिक कलाको खोजी नीति गर्न २०४८ सालदेखि हस्तकला प्रदर्शनी गर्दै आएको छ । 
 
महासङ्घका वरिष्ठ उपाध्यक्ष एवम् व्यापार मेलाका प्रमुख संयोजक किरणकुमार डङ्गोलले मेलामा बङ्गलादेश, भुटान, भारत, चीन, जापानलगायत देशका एक सय ७७ कक्ष राखिने बताए। मेलामा उत्कृष्ट हुने तीन जना कलाकारलाई क्रमशः ५० हजार, ३० हजार र २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।  
 
उक्त व्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको रुपमा विकास गर्दै लैजाने लक्ष्य महासङ्घले राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने सो मेला अवलोकनका लागि प्रवेश टिकट ५० राखिएकोमा विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको महासङ्घले जनाएको छ । 
 
तीन लाख आगन्तुक आउने अनुमान गरिएको सो मेलामा १० करोडभन्दा बढी कारोबार हुने अनुमान छ । मेला आयोजना गर्न वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सहयोग गरेको बताइएको छ । नेपालले वार्षिक २० अर्ब बराबरको कारोबार गर्दै आएको छ। रासस