काठमाण्डौ । पर्याप्त तरलताका कारण अधिकांश बैंकहरुको आधारदर निकै तल छ । आधार दर कम भएका कारण यो बेलामा लोन लिन खोज्नेहरुले समेत सस्तो ब्याजदरमै कर्जा पाइरहेका छन् । यही बेला नेपाल राष्ट्रबैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन दिइसकेको छ । यो निर्देशनपछि धेरै ऋणिहरुलाई व्यक्तिगत आवधिक कर्जाको ब्याजदर सस्तो हुँदा जतिमा लियो, कर्जा अवधिभर त्यति नै कायम होला भन्ने आशा देखिन्छ । तर, अवस्था उनीहरुको आशाभन्दा विपरीत ढंगले विकास भइरहेको छ । 

बैंकहरुले स्थिर ब्याजदर कायम गर्ने नीति एकैपटक नभई क्रमशः लागू गर्न राष्ट्रबैंकलाई पटक–पटक आग्रह गरिसकेका छन् । तर, राष्ट्रबैंक यो नीतिबाट पछाडि हट्ने देखिन्न । 

बैंकरहरुले स्थिर ब्याजदरमा केही न केही सहजता खोजिरहेकै बेला केही दिनअघि राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिंदै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर प्रकाशन गर्न भनिसकेको छ । पछिल्लो यो निर्देशनले समेत राष्ट्रबैंक स्थिर ब्याजदरको नीतिबाट टसको मस नहुने देखिइसकेको छ । यही कुरा बुझेका बैंकरहरुले पनि स्थिर ब्याजदर प्रकाशित गर्ने तयारी गरिरहेका छन् । 

उसो भए नेपालका बैंकहरुले स्थिर ब्याजदर कति तोक्लान् त ? लामो अवधिको कर्जामा अहिले नै थोरै स्थिर ब्याजदर राख्दा तरलतामा तीव्र उतारचढाव भइरहने नेपालको जस्तो बैंकिङ बजारमा जोखिम बढी हुने बुझेका बैंकरहरुले स्थिर ब्याजदरलाई आफ्नो सुविधाअनुसार तोक्ने खोजेका हुन् । 

एक बैंकरका अनुसार आधाभन्दा बढी वाणिज्य बैंकले तोक्ने स्थिर ब्याजदर १४–१५ प्रतिशतको हाराहारीमा हुनेछ । ‘लङटर्मको लोनमा १५ प्रतिशत जति स्थिर ब्याजदर नराखी कसरी टिक्ने ? संभावित जोखिमबाट कसरी बच्ने ?’ एक वाणिज्य बैंकका सीइओले भने–‘केही दिनमै हामी स्थिर ब्याजदर प्रकाशित गर्छौ, तर त्यो अहिलेको भन्दा बढी हुनेछ ।’ 

ती सीइओको अनुसार १५ प्रतिशत हाराहारीमा आउने ब्याजदर व्यक्तिगत आवधिक कर्जाका लागि मात्र हो । बाँकी कुनै पनि कर्जाको प्रडक्टमा तत्काल ब्याजदर बढाइने छैन । ‘किनभने हामीसँग प्रणालीमा २०० अर्ब बढी तरलता छ । नयाँ लोन खासै गएको छैन, यस्तो बेला ब्याजदर बढ्दैन ।’ ती सीइओले प्रष्ट पार्दै भने । 

राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थालाई समयमै कार्यान्वयनमा ल्याउन तागेता गरिरहेको छ । असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्न भनिसकेको छ । यसअनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनेछ र व्यक्तिगत कर्जा लिनेले पनि स्थिर ब्याजदर पाउनेछ । 

स्थिर ब्याजदर १५ प्रतिशत हुँदा साना ऋणिहरु पलायन हुँदैनन् ? भन्ने प्रश्नमा ती बैंकरले अहिले स्थिर ब्याजदर नचाहने ऋणिले अर्को सुविधा पनि पाउने बताए । ‘ब्याजदरमा भइरहने उतारचढावअनुसार नै जान्छु भन्ने अप्सन पनि छ ।’ ती बैंकरले भने–‘कसैले कर्जा अवधिभरका लागि स्थिर ब्याजदर चाहन्छ भने त्यो पनि ठीक छ । वर्षैपिच्छे परिवर्तन हुने ब्याजदर स्वीकार गर्छु भन्छ भने त्यो पनि ठीक छ ।’