काठमाण्डौ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ। 

विभागले आयको हिसाबले एकल र दम्पतीको हकमा करको अलग–अलग दर सार्वजनिक गरेको हो। जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाख रुपैयाँसम्म करयोग्य आय भएमा करयोग्य आयको १ प्रतिशतका दरले कर तिर्नुपर्नेछ। यस्तै दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा १ प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

यसैगरी ४ लाखदेखि ५ लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजार रुपैयाँका अतिरिक्त ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने छ।

यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० रुपैयाँका अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

त्यस्तै ५ लाखभन्दा माथि ७ लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १४ हजार रुपैयाँका अतिरिक्त ५ लाखदेखि ७ लाख रुपैयाँसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ। यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार ५०० रुपैयाँका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ।

विभागका अनुसार ७ लाखदेखि २० लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजार रुपैयाँका अतिरिक्त ७ लाखदेखि २० लाख रुपैयाँसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ। दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाख रुपैयाँसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० रुपैयाँका अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

यस्तै २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ। दम्पतीको हकमा भने २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० रुपैयाँका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ। 

- यस्तो छ व्यक्तिगत करको दर  (यहाँ क्लिक गर्नुहोस्)