– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सक्रिय लगानीकर्ता एवं पुँजीबजारका अभियान्ता तिलक कोइरालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकरको व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन नहुने बताएका छन्। 

प्रहरी नियन्त्रणबाट छुटेको भोलिपल्ट एउटा ब्रोकर हाउसमा भेटिएका कोइराला बजारको पछिल्लो अवस्थालाई लिएर निकै भावुक र नेप्सेको व्यवस्थाप्रति निकै आक्रोशित देखिन्थे। बजार विस्तार र सुधारको माग उठाउँदा पनि लगानीकर्ताको साथ नपाएकोमा भने उनी रुष्ट देखिए। ‘मैले लगानीकर्ताको हकहितमा आवाज उठाउँदा सामाजिक सञ्जालबाट उल्टै मलाई उडाउने काम भयो’, उनले भने। 

लगानीकर्ताको अहिलेको अवस्था परिवर्तन हुन पहिले नेप्सेको पुनर्संरचना हुन आवश्यक रहेको कोइराला बताउँछन्। ‘लकडाउनको समयमा बजारमा अवसर देखेर छिरेका ९९ प्रतिशत लगानीकर्ता अहिले पलायन भइसके, यो व्यवस्थाको कमी हो’, उनले भने, ‘दैनिक २०–२२ अर्ब रुपैयाँको कारोबार हुनका लागि व्यवस्थामा सुधार आउनुपर्छ। त्यसका लागि संस्थागत लगानीकर्तालाई बजार आउने बाटो खुला हुनुपर्छ, होल्डिङ बढाउनुपर्छ।’

कोरोनाको समयमा अनलाइनमार्फत धेरै लगानीकर्ता बजार पसेको थिए। त्यसअघि नै टीएमएस आइसकेको थियो। ‘त्यसपछि ब्रोकरको हातबाट लगानीकर्ताको हातमा कारोबार गयो’, कोइरालाले भने, ‘हामीले नेप्सेको पुनर्संरचना गर्नुपर्छ भन्नुको मुख्य उद्देश्य नयाँ प्रडक्ट ल्याउनुपर्छ भन्ने हो। इन्ट्राडे, अक्सन मार्केटजस्ता प्रडक्ट तुरुन्तै आउनुपर्छ। यो ठूलो विषय होइन।’

नेप्सेले काम गर्ने हो भने रातारात काम हुन सक्ने कोइराला बताउँछन्। ‘अहिले ३२०० को इन्डेक्समा छिरेका लगानीकर्ताको २० करोड रुपैयाँको पोर्टफोलियो ७ करोड रुपैयाँमा झरेको छ’, उनले भने, ‘धेरै लगानीकर्ताको अवस्था नाजुक छ। अब तिनीहरुको अवस्था परिवर्तन हुन लगानीकर्ताको मनोबल बढेर बजार बढ्नुपर्छ। त्यसका लागि नयाँ प्रडक्ट आउनै पर्छ।’

कोइराला निजी स्टक एक्सचेन्ज रोक्नका लागि पनि नेप्सेको पुनर्संरचना आवश्यक रहेको बताउँछन्। ‘होइन भने अहिलेको नेप्से अन्य सरकारी संस्थानहरु जस्तै हुन्छ’, उनले भने, ‘नयाँ स्टक एक्सचेन्ज आएपछि अहिलेको नेप्से खण्डहर हुने अवस्थामा पुग्न सक्छ। कर्मचारी पनि नयाँ स्टक एक्सचेन्जतिर नै आकर्षक सेवासुविधातर्फ लाग्न सक्छन्।’

यिनै अवस्था नआओस् भन्नका लागि आफूले बजार सुधार र विस्तारका लागि अन्तिम प्रयास गरिरहेको कोइराला बताउँछन्। ‘तर, लगानीकर्ता साथीहरुबाट साथ र समर्थन पाइएन’, उनले भने। 

अहिले अलिकति बजार बढ्यो कि सप्लाई आउने गरेको कोइरालाको भनाइ छ। ‘कारण, बजारमा लगानीकर्ताको विश्वास देखिँदैन’, उनले भने, ‘त्यसैले बजार बढ्न नसकेको हो।’

आफूहरुले भनेजस्तो व्यवस्था परिवर्तन नभए बजार लामो समयसम्म उठ्न नसक्ने कोइरालाको दाबी छ।