काठमाण्डौ । निजी क्षेत्रका लागि २०७२ दुःखद रह्यो । महाभूकम्प, नाकाबन्दी लगायतले व्यापार  चौपट भएर घाटा सहनुपरेको कालो वर्षको रुपमा दर्ज २०७२ सालमै नेपालमा निजी क्षेत्रको जग बसाल्ने संस्थापक तथा चौधरी ग्रुपका समेत संस्थापक लुनकरणदास चौधरीलाई गुमाउनुपर्ययो । 

नेपालमा व्यापारलाई उद्योगमा बिस्तारको काम सुरु गर्ने चौधरीले ९३ वर्षको उमेरमा अनन्तयात्रा रोजे । समग्र निजी क्षेत्र र देश नै एक असल, अग्रणी र विश्वमै नाम कमाएको चौधरी ग्रुपका संस्थापकको निधनले स्तब्ध बन्यो । 

लुनकरणदासले जग बसालेको चौधरी ग्रुप अहिले विश्वका अर्बपतिको समूह विलेनियर क्लबमा छ । 
 
लुनकरण दासले चौधरीको जन्म काठमाडौंको मखन टोलमा १९७९ सालमा भएको थियो। उनका तीन छोरा र एक छोरी छन्। उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् भने माइला छोरा बसन्त चौधरी नेपालमै  कहलिएका सफल उद्योगी र एक चर्चित तथा सफल गीतकार तथा स्रष्टा समेत हुन् । कान्छा छोरा अरुण चौधरी अटो व्यापारमा नेपालमै स्थापित नाम हो । 

लुनकरणले बाबु भूरामलको पालादेखि नै चल्दै आएको कपडाको व्यापारलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा पाइला टेकेका थिए । उनले विराटनगरमा जुट उद्योग स्थापना गरे भने निर्माण कम्पनी पनि चलाएका थिए ।  उनले २०२२ सालमा मोर्डन होजियारी उद्योग कम्पनी स्थापना गरेका थिए जसले मोजा उत्पादन गथ्र्याे । उनको दोस्रो उद्योग नेपाल स्पिनिङ बेभिङ एण्ड निटिङ हो । यसले सेन्थेटिक कपडा उत्पादन गथ्र्यो । तेस्रो उद्योग रत्न स्टेनलेस स्टिल हो । यो उद्योगले भाँडा उत्पादन गथ्र्यो। 
 
जुट उद्योगबाट उनले औद्योगिक क्षेत्रमा पाइला टेकेका हुन्। लुनकरण दासले काठमाडौं बाहिरको क्षेत्रमा पनि आफ्नो व्यापारलाई त्यही बेलादेखि विस्तार गरेका थिए । विराटनगरमा उनले भूरामल लुनकरण दास चौधरी नामको नयाँ कार्यालय सुरु गरेका थिए । जुट निर्यात यो समूहको पहिलो अन्तर्राष्ट्रिय व्यापार हो । जुटको व्यापारसँगै यो समूहले कोरिया र जापानबाट कपडा आयातको  काम समेत थालेको थियो । 

लुनकरण दासले २०१४ सालमा काठमाडौं त्रिशुली सडकमा सब कन्ट्याक्टरको काम पनि गरेका उनका छोराहरु बताउँछन । विनोद चौधरीको आत्मकथामा उल्लेख भए अनुसार यही सडकको कामले चौधरी समूहलाई परम्परागत व्यापारबाट अन्यन्त्र मोड्यो । लुनकरणदासले युनाइटेड विल्डर्स नामको निर्माण कम्पनी स्थापना गरेका थिए र यही कम्पनीले सोल्टी होटल निर्माण गरेको हो । 
 
उनले २०२० सालमा फ्लोरिङ एण्ड फर्निसिङको आउटलेट समेत खोलेका थिए । यो फर्निसिङको शाखा काठमाडौं बाहिर वीरगञ्जसम्म फैलाइएको थियो। यसले होटल तथा दूतावासको सजावटको काम गथ्र्यो। लुनकरण दासले नै नेपालमा पहिलो पटक डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन्। उनले २०२५ सालमा न्यूरोडमा डिपार्टमेन्ट स्टोर खोलेका थिए। 
 
१९९० सालमा चौधरीका पिताले घुमुवा व्यापार छाडेर इन्द्रचोकमा पसल स्थापना गरेका थिए । यसलाई नयाँ उचाइमा पुर्याउने र औद्योगिक क्षेत्रमा प्रवेश गराउने काम लुनकरणले गरेका थिए ।  चौधरी गु्रप अन्तर्गत अहिले विभिन्न क्षेत्रमा ४० वटाभन्दा बढी औद्योगिक–व्यापारिक संस्थाहरु स्थापित छन् । यी संस्थामा सात हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

लुनकरण नेपाल उद्योग वाणिज्य महासंघ, मारवाडी सेवा समिति, नेपाल चेम्बर अफ कमर्सलगायतका दर्जनौं संघ संस्थाका पनि संस्थापक हुन्। चौधरीलाई गुमाउनुपरेको वर्ष २०७२ ले उनीसँग जोडिएका धेरै राम्रा इतिहास तथा यादहरुलाई यथावत नै राखिदिएको छ । सामान्य व्यापारबाट सुरु भएको चौधरी  ग्रुपको अहिलेसम्मको सफल यात्रा र लुनकरणदासले यसका लागि गरेको संघर्ष सन्ततिका लागि समेत वर्षौ  वर्षसम्म प्रेरणाको स्रोत भइरहनेछ ।