काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले बैंकबाट गएको तरलता वस्तु खरिदका लागि विदेशिएपछि मुलुकमा समस्या बढ्ने बताएका हुन्। ‘मुलुकभित्र लगानी गरिएको पैसा प्रणालीमा आइहाल्छ’, उनले भने, ‘जब ठूलो रकम बाहिरिन्छ, सीमा कट्छ । यहाँ खोजेर पाइँदैन, तरलता विदेशिन्छ, त्यसपछि समस्या सिर्जना हुन्छ।’
रेमिट्यान्सले आयातको ४० प्रतिशतमात्र धान्ने, सेवा र ट्रान्सफरले बाँकी आयातसमेत नधान्दा बाह्य क्षेत्र चापमा परेको गभर्नर अधिकारीको भनाइ थियो। यसको समाधानमा सबैको भूमिका रहनेसमेत उनले बताए।
ब्याजदर बढ्दैमा बैंकमा निक्षेप नआउने अधिकारीले स्पष्ट पारे। ‘निक्षेप आकर्षित गर्न ब्याजदर बढाइएको होइन’, उनले भने, ‘अत्यावश्यकबाहेकका वस्तुको उपभोग घटाउन ब्याजदर बढाइएको हो।’
गभर्नर अधिकारीले अर्थतन्त्र बिग्रेको नभई सजग हुनुपर्ने अवस्थामा रहेको बताए। गत पुससम्म कोभिड–१९ बाट थला परेका क्षेत्रलाई माथि उकास्न सहुलियत दिइएको भन्दै अधिकारीले त्यसपछि भने नीतिगत रुपमा कडाइ गर्न थालिएको बताए। जसका कारण आयातको वृद्धिदर पुसपछि क्रमशः घट्न थालेको उनले दाबी गरे।
आयात बढ्नुमा कोभिड–१९ पछि नेपालको अर्थतन्त्र छिट्टै सामान्य अवस्थामा फर्किएको संकेत भएको भन्दै उनले यसलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताए।
अर्थतन्त्रको सुधारमा आमसर्वसाधारण तथा उद्योगी–व्यवसायीदेखि सबैले साथ दिनुपर्ने अधिकारीले बताए।
5 minutes ago
26 minutes ago
37 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago