काठमाण्डौ । नयाँ पुस्तामा ट्याटुप्रति आकर्षण बढेसँगै काठमाडौंमा ट्याटु सम्मलेन चलिरहेको छ । चैत्र १९ गतेदखि भईरहेको छैठौं इन्टरनेसनल नेपाल ट्याटु कन्भेन्सनमा नेपाल तथा विदेशका गरी २२ देशका कलाकारहरु ट्याटु बनाउन सहभागी छन् भने अवलोकनकर्ता र ट्याटु बनाउन चाहने युवायुवतीको भीड लागेको छ । 

कसैलाई रहर तथा कसैले जीवनपर्यन्त सम्झनाका लागि भन्दै पछिल्लो समय नयाँ पुस्तामा ट्याटुप्रति मोह अत्यधिक जागेको देखिन्छ । राजधानीको होटल याक एन्ड यतिमा छैठौं इन्टरनेसनल नेपाल ट्याटु कन्भेन्सन चलिरहँदा विशेषगरी युवापुस्ता नै बढी झुम्मिएका देखिन्थे । युवायुवती शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए । एकपटक ट्याटु बनाएपछि जीवनभर रहने र आफूलाई आर्कषक र फरक देखिएको महसुस हुने भएकाले ट्याटुप्रति मोह बढेका बताउँछन् । उनीहरु जीवनमा पटक पटक ट्याटु खोप्नुभन्दा एकपटक बनाउने तर सोंचविचार गरेर मात्र राम्रो ट्याटु खोप्नुपर्ने बताउँछन् ।  

नेपाल लगायत २२ देशका १६० जना कलाकार सहभागी अन्र्तराष्ट्रिय ट्याटु सम्मेलनमा नेपाली तथा विदेशी युवायुवतीहरु ट्याटु बनाउन उत्साहित देखिन्छन् । विभिन्न आकृतिमा बनाउन सकिने ट्याटुमध्ये मन्त्र ट्याटु, कलर ट्याटु, पेट्रोट ट्याटु, डट जोमेट्रिक ट्याटु, ब्ल्याक एण्ड रे ट्याटु, ओरियन्टल एसियन स्टईल, अमेरिकन वल्र्ड स्कुल लगायतका ट्याटुमध्ये नेपालमा रिलिजियस ट्याटु अर्थात् शिव, गणेश, बुद्ध, सरस्वती लगायतका भगवानका आकृति बनाउने ट्याटुप्रति युवायुवतीले बढी रुचाउने गरेका कलाकार बताउँछन् । उनीहरुकाअनुसार १८ वर्षदेखि माथिका युवाहरुले मात्र ट्याटु खोप्न पाउनेछन् ।

चैत्र १९ गतेदेखि चलेको ट्याटु सम्मेलन २१ गतेसम्म जारी रहनेछ भने प्रत्येक दिन प्रतियोगितात्मक कार्यक्रम पनि राखिएको आयोजकले बताएको छ । ट्याटुको विधा अनुसार सबैभन्दा राम्रो ट्याटु बनाउनेले वेष्ट अफ दि डे का रुपमा पुरस्कार पनि दिइने गरिएको र अन्तिम दिनमा पनि वेष्ट अफ दि सो आयोजना गवरी विजेतालाई पुरष्कार दिइने आयोजक नेपाल ट्याटु प्राईभेट लिमिटेडले जनाएको छ ।