काठमाण्डौँ : शाइन रेसुंगा डेभलपमेन्ट बैंकसँग पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड मर्जरमा जाने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । 

मर्जर प्रस्ताव पारित गर्न तीनवटै विकास बैंकले असार २७ गते विशेष साधारणसभा डाकेका छन्। शाइन रेसुंगा पूर्णिमा र भार्गवलाई एक्वायर गरेर राष्ट्रियस्तरको बलियो विकास बैंक बन्ने अभियानमा जुटेको छ । 

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगाले रुपन्देहीकै सिद्धार्थनगर नगरपालिकामा रहेको पूर्णिमा र बाँकेको नेपालगन्जमा रहेको भार्गवलाई मर्जरमा ल्याउन लागेको हो । हिजो सोमबार बसेको तीनवटै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको मिति तय गर्नुका साथै आफ्ना सेयरधनीहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । 

विशेष साधारणसभामाका लागि शाइन रेसुंगाले असार १९ देखि २७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । त्यस्तै पूर्णिमा र भार्गव सेयर कारोबार असार २७ गतेदेखि बन्द हुने हुँदा सोही मितिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने सूचना जारी गरेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा १० जिल्ले बैंक हो । यसको कार्यक्षेत्र रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ र चितवन लगायतमा बिस्तार भइसकेको छ । 

बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको भार्गव विकास बैंक भने तीन जिल्ले विकास बैंक हो ।  बैंकका बाँके, बर्दिया र दाङमा शाखा छन्। 

तीनवटै बै.कको मर्जरपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नै हुने समझदारीपत्रमा उल्लेख छ। 

एक्वीजिसनपछिपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नै निरन्तरता पाउने छन् भने प्रमुख कार्यकारी अधिकृतमा पनि शाइन रेसुङ्गाका प्रकाश पौडेल नै रहनेछन् । भार्गवका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एकीकृत संस्थाको नायव कार्यकारी प्रमुख हुने छन्।

हाल शाइन रेसुंगाको चुक्तापूँजी १ अर्ब ६२ करोड रुपैयाँ छ । पूर्णिमाको ५५ करोड छ भने भार्गव विकास बैंकको ५० करोड रुपैयाँ रहेको छ । तीनवटै कम्पनी मर्ज भएर बन्ने एकीकृत संस्थाको चुक्तापूँजी तीन अर्बको हाराहारीमा पुग्नेछ । 

यस्तै, तीनवटै बैंक गाभिएपछि बन्ने बैंकको शाखा सञ्जाल संख्या ६८ पुग्नेछ भने वासलातको आकार ५० अर्बको हाराहारीमा पुग्नेछ ।