काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक परिपत्र जारी गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था गरिएको जानकारी गराएको हो। अब सोहीअनुसार गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। 

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फतसमेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्नेछ। 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा खाता भएका ग्राहकहरुलाई संस्था स्वयं वा आधिकारिक प्रतिनिधिको सहायताले प्वइन्ट अफ ट्रान्ज्याक्सन मेसिनका माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका तथा उपमहागरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवाहरु प्रदान गर्दा खातामा नगद जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने र रकमान्तर गर्नुपर्ने छ। ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण प्रदान गर्ने र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्नुपर्नेछ। 

बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता सजिलै बुझिने गरी स्पष्ट र दोहोरो अर्थ नलाग्ने गरी नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। यदि कुनै ग्राहकले यस्तो सम्झौता अंग्रेजी भाषामा गर्न चाहेमा सोको व्यवस्थाले बाधा पुर्याएको नमानिने राष्ट्र बैंकले जनाएको छ।

सेवा प्रदायक र ग्राहकबीचको कारोबारबापत लाग्ने शुल्कसम्बन्धी जानकारी ग्राहकलाई गराउनुपर्नेछ।