काठमाण्डौ । पछिल्लो समय शाखा विस्तारमा तीव्रता दिइरहेको सेञ्चुरी कमर्सियल बैंकले जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडानम्बर १ मा पथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका २ भगवती रोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो  

पथरी शाखाको औपचारिक उद्घाटन बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वाफोले संयुक्त रुपमा गरेका थिए । 

सो कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई लगायतको सहभागिता थियो । 

यसैबीच, सुनसरीको सदरमुकमा इनरुवामा सेञ्चुरी बैंकले स्थापना गरेको शाखा कार्यालयको बैंकका सञ्चालक अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे । 

सो कार्यक्रममा मुख्य कार्यालयबाट गएका बैंकका प्रतिनिधिहरु, इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहता, पूर्व मेयर गोपाल कोइराला, इनरुवा उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

अब सेञ्चुरी बैंकको देशभरको शाखा सञ्जाल संख्या १४६ पुगेको छ भने १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ इकाई र ११५ वटा एटीएम पुगेका छन् ।