काठमाण्डौ । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि सरोकारवालाहरुले शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सुझाव दिएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आज आयोजित छलफलमा सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए नभएकोबारे स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

छलफलका सहभागीहरु विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्नुपर्ने पक्ष सहमत थिए। कोरोना संक्रमण फेरि बढ्न लागे पनि अब यससँग जुध्दै अघि बढ्नुपर्ने उनीहरुको भनाइ थियो। 

छलफलमा शिक्षामन्त्री सहभागी भएका थिएनन्। मन्त्रालयका अधिकारीहरुले सरोकारवालाहरुबाट प्राप्त सुझाव मन्त्रीसमक्ष ब्रिफिङ गरेर आजै मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन्। 

सरोकारवालाहरुबाट प्राप्त सुक्षा आजै सरकारसमक्ष पुर्याइने बताएका छन्।
आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ।