काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ तथा १६ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ तथा २०७६/७७ को वार्षिक साधारणसभा एकैपटक डोकेको हो। सभा आउँदो चैत ९ गते सोमबार कम्पनीको काठमाण्डौ थापाथलीस्थित शिखर विज सेन्टरमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २९.२३१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद (कर प्रयोजनार्थ) रहेका छन्। 

सभामा प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

कम्पनीको अधिकृतपुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभामा दुवै आर्थिक वर्षको सञ्चालक समितिका वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन छलपल गरी पारित हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही फागुन २६ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।