काठमाण्डौ। शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालि कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।

नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एकमात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गसलाई पब्लिक लिमिटेडमा पारित गरी शिवम् होल्डिङ्गस लिमिटेड कायम भई लगानी गर्ने उद्देश्य रहेको पब्लिक लिमिटेड कम्पनीको हैसियतले कारोबार सञ्चालन गर्न कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृतिसमेत प्राप्त गरिसकेको छ।

शिवम होल्डिङ्गसको अधिकृत पुँजी ५ अर्ब ८० करोड र चुक्तापुँजी ४ अर्ब रहेको छ भने शिवम् होल्डिङ्गसले नेपालकै सबैभन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने चिनियाँ विदेशी लगानीसमेत रहेको होङ्शी शिवम् सिमेन्ट प्रालिको संस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ। शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत सेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्टले पहिलो चरणमा ६ हजार मे.टन. क्लिङ्कर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ। 

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६ हजार मे.टन. उत्पादन गर्ने र दैनिक २० हजार मे.टन. चुनढुंगा खानीस्थलबाट उद्योगस्थलसम्म पुर्याउन आधुनिक कन्भेयर वेल्ट निर्माणका क्रममा ५ किलोमिटर लामो सुरुङमार्ग निर्माणाधीन अवस्थामा रहेको छ। 

उक्त कम्पनीले गत आ.व. २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयरसमेत वितरण गरिसकेको छ।

यसका साथै शिवम् होल्डिङ्गसले आफ्नो चुक्तापुँजीको अधिकांश रकम होङ्शी शिवम् सिमेन्टको उद्योगमा संस्थापक सेयरवालाको हैसियतले सेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफलसमेत प्राप्त गर्न सुरु भइसकेको यस कम्पनीले संस्थापक समूहतर्फ ८० प्रतिशत रहेको छ भने निकट भविष्यमा धितोपत्र बोर्डसमेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निष्कासन गरी पुँजी संकलन गरी थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको छ। 

शिवम् होल्डिङ्गसमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत अर्थात रु. ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेसाव्यवसायको आ–आफ्नो क्षेत्रमा सफलतापूर्वक क्रियाशील रहेका व्यक्तिगत संस्थापकहरुको करिब १५ प्रतिशत अर्थात रु. ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँबराबरको सेयर रकम लगानी गरेका छन।

शिवम् होल्डिङ्गसले प्रत्यक्ष रुपमा सेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्ट मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेस्ट हिटबाट करिब १२ मेघावाट विद्युत उत्पादन गरी आफँै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो भने दोस्रो लाइनबाट उत्पादन सुरु भएपछि प्रतिदिन १२ हजार मे.टन. क्लिङ्कर तथा सिमेन्ट उत्पादन हुनेछ। 

हाल नेपाल विद्युत प्राधिकरणबाट होङ्शी शिवम सिमेन्ट उद्योगलाई २५ मेघावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ। उक्त उद्योगका कारण हाल नेपालमा सिमेन्ट र क्लिङ्कर उत्पादनमा आत्मानिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ। 

त्यसैगरी शिवम् सिमेन्ट्स, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–क्वालिटी अवार्ड प्रथम पुरस्कार प्राप्त गर्ने नेपा कै एक अग्रणी उच्च गुणस्तरको शिवम् ब्रान्डको असली ओपीसी सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्ने सिमेन्टका रुपमा आम उपभोक्ताले सर्वाधिक रुपमा खोजी गर्ने र रोजाइको सिमेन्ट रहेको छ।