काठमाण्डौ । अडानी समूहमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको कहर कहिले समाप्त हुन्छ भन्न गाह्रो छ। दिनप्रतिदिन गौतम अडानीलाई ठूलो झट्का लागेको छ। 

सन् २०२३ यी भारतीय अर्बपतिका लागि निकै खराब साबित भएको छ। अमेरिकी सर्ट सेलर फर्मले २४ जनवरीमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेपछि गौतम अडानी धनीको सूचीमा लगातार पछि पर्दैछन्। प्रतिवेदन सार्वजनिक भएको दुई सातामै शीर्ष १० बाट बाहिरिएका अडानी अहिले शीर्ष ३० बाट तल झरेका छन्। 

गौतम अडानीको नेटवर्थमा आएको तीव्र गिरावटका कारण विश्वका धनीहरुमाझ उनको प्रभाव तीव्र गतिमा घटेको छ। गत वर्ष २०२२ मा अडानी मनग्य आम्दानी गर्दै विश्वको दोस्रो धनी व्यक्ति बनेको थियो भने वर्षको अन्त्यमा पनि चौथो स्थानमा रहँदै आएको थियो। त्यसपछि नयाँ वर्ष २०२३ सुरु भयो।

कमाइका हिसाबले सबै धनीलाई पछि पार्दै अडानीले यस वर्ष पनि नयाँ उचाइ हासिल गर्ने सबैको अपेक्षा थियो। तर, जनवरीको पहिलो महिनाको अन्त्य हुनुअघि नै अमेरिकीबाट एउटा रिपोर्ट आयो र अनुमान सबै पूरै बदलियो। कमाइको हिसाबले होइन अधिकतम सम्पत्ति गुमाउने हिसाबले गौतम अडानी पहिलो नम्बरमा परेका छन्।

जनवरी २३ मा अडानी समूहमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्ट प्रकाशित हुनुअघि उनी एलन मस्क, बर्नार्ड अर्नाल्ट र जेफ बेजोस पछि शीर्ष १० अर्बपतिहरुको सूचीमा चौथो नम्बरमा थिए। त्यतिबेला उनको कुल सम्पत्ति लगभग ११६ बिलियन डलर थियो। हिन्डनबर्ग प्रतिवेदन २४ जनवरीमा प्रकाशित भयो र २५ जनवरीदेखि अडानी समूहका कम्पनीहरुको सेयरमा यस्तो भूकम्प आउन थाल्यो, जुन अहिलेसम्म जारी छ।

अडानी समूहको मार्केट क्याप १२ लाख करोड रुपैयाँभन्दा बढीले घटेको छ। यसैबीच सेयरहरुको मूल्य घटेपछि गौतम अडानीको नेटवर्थ पनि घट्यो र उनी धनीहरुको सूचीमा १० औं स्थानमा पुगे। हिन्डनबर्गको प्रतिवेदन ल्याएको सुनामी त्यहीँ रोकिएन। १५ दिनभित्रै अडानी शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए। अहिले टप–३० बाट बाहिरिएर अडानी ३३औँ स्थानमा झरेका छन्। 

सम्पत्तिमा आएको गिरावटको कुरा गर्दा गौतम अडानीले यस वर्षको सुरुदेखि नै करिब ८१ अर्ब डलरको सम्पत्ति गुमाइसकेका छन्। फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति अहिले ३५.३ अर्ब डलरमा झरेको छ। यो सम्पत्तिसँगै उनी विश्वको ३३औँ धनी व्यक्ति बनेका छन्। 

प्रतिवेदन सार्वजनिक भएको एक महिनाभित्रै अडानी समूहका कम्पनीहरुको सेयर ८५ प्रतिशतसम्मले घटेको छ। 

गौतम अडानीको नेटवर्थ घटेपछि एसियाकै धनी व्यक्तिको ताज उनीबाट खोसिएर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीसम्म पुग्यो। यससँगै दुवै भारतीय अर्बपतिको सम्पत्तिमा अन्तर पनि बढेको छ। फोर्ब्सका अनुसार मुकेश अम्बानी ८४.१ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० धनीहरुको आठौँ नम्बरमा छन्। नेटवर्थको भिन्नतालाई हेर्दा अम्बानीको सम्पत्ति अडानीको भन्दा ४८.८ अर्ब डलर बढी छ। –एजेन्सी