काठमाण्डौ । हालसम्मकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंकको औपचारिक उदय शुक्रबार हुँदैछ । नेपाल राष्ट्रबैंकले भदौ ८ गते भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेपछि चुक्तापूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंकको उदय निश्चित भएको थियो । 

संयुक्त कारोबारका लागि शुक्रबार होटल र्याडिसनमा विशेष समारोह राखिएको छ । जहाँ राष्ट्रबैंकको गभर्नर डा. चिरञ्जिवी नेपालले कारोबारको समुद्घाटन गर्नेछन् । 

सुरुमा यी दुई बैंकले मर्जरका सबै आन्तरिक तयारी पूरा गरी असारभित्रैदेखि संयुक्त कारोबार थाल्ने बताएका थिए । यही योजनाका साथ उनीहरुले अन्तिम स्वीकृतिका लागि समयमै राष्ट्रबैंकमा निवेदन दिए पनि त्यहाँको ढिलासुस्तीले भदौ ८ मा मात्र अन्तिम स्वीकृतिको पत्र प्राप्त भएको थियो । त्यसपछि सबै तयारी पूरा गरेर बसेका उनीहरुले ९ दिनमै संयुक्त कारोबार सुरु गर्ने भएका हुन् । 

भिबोर र सोसाइटीको मर्जपछि बन्ने बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौको डिल्लीबजारमा अवस्थित हालको सोसाइटी डेभलपमेन्ट बैंकमा रहनेछ । हाल भिबोरको मुख्य कार्यालय चाहि त्रिपुरेश्वरमा रहेको छ । 

शुक्रबारदेखि ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’को नाममा औपचारिक उदय हुने नयाँ बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड भन्दा केही बढी हुने बैंकका सीइओ झलक खनालले जानकारी दिए । उनका अनुसार यति धेरै चुक्तापूँजी देशका अन्य कुनै पनि विकास बैंकको छैन । केहीअघि मर्जर सकेर संयुक्त कारोबार सुरु गरिसकेको कैलाश विकास बैंकको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ थियो । 

नेपाल राष्ट्रबैंकले देशका विकास बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड हुनुपर्ने नीति लिएपछि त्यसैलाई पछ्याउँदै यी दुई बैंकले गत पुस ९ गते एकआपसमा मर्ज हुने सम्झौता गरेका थिए । सो क्रममा मर्जपछि  बन्ने  बैंकको नाम ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ रहने सहमति भएको थियो । 

राष्ट्रबैंकले तोके अनुसारको चुक्तापूँजी पुर्याउन भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आगामी दिनमा कुनै सानो संस्था खरीद गर्ने वा त्यो संभव नभए हकप्रद वा बोनस सेयर जारी गरी ०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने नीति लिएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा भिबोर विकास बैंकले २० करोड ३७ लाख खूद नाफा कमाएको छ । अघिल्लो आबमा यो बैंकको नाफा १५ करोड ८४ लाखमा सीमित थियो । यो अवधिमा बैंकले डूबेको कर्जा असूलीमा निकै ठूलो सफलता हात पार्दा नाफा बढेको हो । सोसाइटी डेभलपमेन्ट बैंकको नाफा समेत २० करोड ५ लाख पुगेको छ । यो बैंकको खूद नाफा चाहि गत आबको तुलनामा कम हो । गत आबमा यो बैंकले २० करोड ३२ लाख खूद नाफा कमाएको थियो । यो बैंकको चुक्तापूँजी ८९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।