काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको समृद्धिका लागि एमसीसी आउनुपर्ने बताएका छन्।

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधबार आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन्। ‘हामीले विदेशी लगानी पहिलाको स्थितिमा ल्याउन सकिरहेका छैनौँ। केही नीतिगत समस्या छन्। मैले एमसीसीबारे आफ्नो धारणा राख्दा मलाई ‘तिम्रो चाहिँ के स्वार्थ छ? भनेर प्रश्न गर्छन्’, उनले भने, ‘अहिले मैले उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेको छु। त्यसैले मेरो एउटामात्र स्वार्थ छ; देशको समृद्धि।’

एमसीसी देशको विकासका लागि एकदमै भाइटल भएकाले एमसीसी आउने गोल्छाको भनाइ छ। ‘एमसीसीजस्ता ठूला प्रोजेक्टहरुलाई हामीले निरुत्साहित गर्दा ठूलठूला अवसरहरु गुम्न सक्छन्’, उनले भने। 

‘हामी अति राष्ट्रवादतिर गएर हाम्रो आर्थिक गतिविधि साथै राष्ट्रको समृद्धि संकुचित हुने काम गर्नु हुँदैन। त्यसैले यस्ता प्रोजेक्टहरुलाई प्रोत्साहन गर्नुपर्छ’, गोल्छाले भने।