काठमाण्डौ । श्रीलंकाको राजधानी कोलोम्बोमा कोरोनाभाइरसका कारण संकटमा परेका मजदुरलाई पैसा बाँड्ने क्रममा भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा ८ जना घाइते भएका छन्।

कोलोम्बोका एक व्यापारीले आफ्नो गोदाममा कोरोनाभाइरसका कारण समस्यामा परेका मजदुरहरुलाई पैसा बाँडिरहेका थिए। पैसा लिन त्यहाँ सयौँ मानिस जम्मा भएका थिए।

पैसा बाँड्ने क्रममा त्यहाँ हुलदंगा हुनका साथै प्रहरीले हस्तक्षेप गर्दा भागदौड मच्चिएको थियो। त्यही क्रममा मावनीय क्षति भएको कोलोम्बो प्रहरीले जनाएको छ। 

कोलोम्बो प्रहरीका अनुसार ती व्यापारी पैसा बाँड्न लागेकोबारेमा स्थानीय प्रहरी तथा प्रशासनसँग अनुमति नै नलिई बिना जानकारी पैसा बाँड्ने योजना बनाएका थिए। बिना जानकारी पैसा बाँड्न लागेका ती व्यापारीका ६ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। 

केही समाचार एजेन्सीहरुले भने ती व्यापारी मुस्लिम रहेको र रमजान महिनाको समाप्तिका क्रममा इदको दानस्वरुप पैसा बाँड्न लागेको जनाएका छन्। 

श्रीलंकामा हालसम्म १ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ९ जनाको ज्यान गइसकेको छ। – एजेन्सी