काठमाण्डौ । श्रीलंकामा खाद्यान्न अभाव हुने डरबीच सरकारले कर्मचारीलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप १ दिन छुट्टी दिने भएको छ।
श्रीलंकामा सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको छ।
विदेशी मुद्राको चरम अभावका कारण श्रीलंकाले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्न संघर्ष गर्नुपरिरहेको छ। सरकारले आगामी ३ महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीलाई प्रत्येक साता शुक्रबार पनि सार्वजनिक छुट्टी दिने प्रस्तावमा सहमति जनाएको थियो।
इन्धन संकटका कारण काममा जानआउन कठिनता व्यहोरिरहेका कर्मचारीलाई आफू र परिवारजनलाई खानका निम्ति फलफूल र तरकारीहरु उत्पादन गर्नसमेत सहयोग गर्ने उद्देश्यले थप छुट्टी दिने निर्णय गरिएको सरकारले जनाएको छ। ‘सरकारी कमर्चारीहरुलाई सातामा थप एकदिन छुट्टी दिन र भविष्यमा हुन सक्ने खाद्य अभावको अवस्थाको समाधान खोज्ने आफ्ना करेशाबारी वा अन्यत्र कृषि गतिविधिमा लाग्नका निम्ति आवश्यक सुविधा प्रदान गर्नु उचित देखिएको छ’, सरकारले उसको आधिकारिक समाचार पोर्टलमा जारी गरेको वक्तव्यमा उल्लेख छ।
अमेरिकाले सोमबार नै आफू श्रीलंकालाई सहयोग गर्न तयार गरेको जनाएको छ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघसँगको टेलिफोन वार्तापछि अमेरकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले अमेरिका श्रीलंकासँग मिलेर काम गर्न तयार रहेको बताएका थिए।
यसै महिना केहीअघि प्रधानमन्त्री विक्रमसिंघले श्रीलंकालाई अत्यावश्क वस्तुको आयातका लागि कम्तीमा पनि ५ अर्ब डलरको आवश्यकता रहेको बताएका थिए।
श्रीलंकाको मुद्रा रुपैयाँको मूल्य खस्किनु, विश्वव्यापी रुपमै उपभोग्य वस्तुको मूल्य बढ्नु र (अहिले हटाइएको) रासायनिक मलको प्रयोगमा लगाइएको प्रतिबन्धका कारण त्यहाँ गत अप्रिल महिनामा खानेकुराको मूल्य ५७ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
गत महिनाको अन्त्यमा देशका कृषिमन्त्री महिन्द अमरवीराले किसानलाई थप धान उत्पादन गर्न आग्रह गरेका थिए। ‘खाद्यान्नको अवस्था एकदमै खराब बन्दै गएको अब स्पष्ट नै छ’, उनले भने, ‘हामी सबै किसानलाई आआफ्नो खेतमा गएर अबको ५ देखि १० दिनसम्म धान रोपाइँ गर्न अनुरोध गर्छौं।’ –बीबीसीबाट
11 minutes ago
32 minutes ago
43 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago