काठमाण्डौ । श्रीलंकामा बढ्दो मुद्रास्फीति र कमजोर आर्थिक अवस्थाका कारण भएको विरोध प्रदर्शनपछि केन्द्रीय मन्त्रिपरिषद् र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। राष्ट्रपति गोटाभाया राजापक्षेले नयाँ सरकारमा सहभागी हुन सबै दललाई आमन्त्रण गरेका छन्। तर, देशमा गहिरो आर्थिक संकट देखिएपछि सडकमा उत्रिएका जनताले राष्ट्रपति राजापक्षेले राजीनामा नगरेसम्म आफ्नो अभियान नरोकिने बताएका छन्।

श्रीलंकामा सडकमा उत्रिएका जनताको आक्रोश र विरोधको बीचमा ब्यानर र नारामा एक व्यक्तिको नाममात्र सुनिन्छ। उनीहरु भन्छन्–‘जाऊ गोटा जाऊ, जाऊ गोटा जाऊ।’

नारामा गोटा भन्नाले राष्ट्रपति गोटाभाय राजापक्षे भन्ने बुझिन्छ। धेरैले गोटाभायलाई अहिलेको अवस्थाका लागि जिम्मेवार ठान्छन्।

श्रीलंकामा जारी कर्फ्युबीच पति र दुई छोरी लिएर आन्दोलनमा पुगेकी नाधी वन्दुर्गला भन्छिन्, ‘गोटा जानु पर्छ, उनले हामीबाट सबै खोसेर लगे।’

नाधीको हातमा एउटा पम्पप्लेट थियो। जसमा उनको परिवारले अहिले दिनहुँ भोगिरहेको समस्याहरु उल्लेख गरिएको छ। 

श्रीलंकामा अहिले दैनिक १७ घन्टा विद्युत् कटौती गरिएको छ। खाना पकाउन ग्यास छैन। पेट्रोलका लागि लामो लाइन लाग्नुपर्छ।

अस्पतालमा औषधि छैन। विद्यालयमा परीक्षाको पेपर छैन। तर, राजनीतिज्ञले दिनहुँ बिजुली पाइरहेका छन्। उनीहरूलाई ग्यास वा तेलका लागि कहिल्यै लाइनमा उभिनु पर्दैन।

श्रीलंकाको विदेशी मुद्रा सञ्चिती निकै कम भएको कारण यो देशले इन्धनसमेत किन्न सकेको छैन। कोरोना महामारीका कारण देशको पर्यटनमा समेत असर परेको छ। तर, गोटाभाया राजपाक्षेले यो संकटलाई राम्ररी सम्हाल्न नसकेको पनि जनताको विश्वास छ।

विज्ञहरु सन् २०१९ मा निर्वाचित भएदेखि नै राजापक्षेले करमा ठूलो कटौती र आयातमा प्रतिबन्धजस्ता नीतिहरुले संकट थपिएको बताउँछन्। गोटाभायाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोग लिन पनि लापरबाही गरेको उनीहरुको आरोप छ। 

यसैबीच राष्ट्रपति राजापक्षेले वर्तमान अवस्थाका लागि विगतका सरकारहरुलाई जिम्मेवार रहेको बताएका छन्। 

मानिसमा आक्रोश बढेसँगै डर पनि बढेको छ। राजापक्षे सरकारले यसविरुद्ध उठेका आवाजलाई दबाउन खोजेको मानिन्छ।

आइतबार लगाइएको कर्फ्यु मानिसलाई भेला हुनबाट रोक्ने एउटा तरिका थियो। सामाजिक सञ्जाल पनि ब्ल्याकआउट गरिएको छ। 

राष्ट्रपतिको आदेशमा प्रशासनको अनुमतिबिना सडक, पार्क, रेल र समुद्री किनारमा आवतजावत गर्न निषेध गरिएको छ। 

आइतबारको विरोध प्रदर्शनमा संलग्न विपक्षी नेता सजित प्रेमदासाले भने, ‘म तिनीहरुलाई तानाशाही, निरंकुश र कठोर कदम भन्छु।’

जब प्रेमदासा र उनको पार्टीका अन्य सदस्यहरु राजधानी कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा जान खोजेका थिए, उनीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए। 

आफ्ना जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापक्षेसँग मिलेर सरकार चलाउँदै आएका राष्ट्रपति राजापक्षेमाथि विगतमा अभिव्यक्ति स्वतन्त्रताको दमन गरेको आरोप लागेको छ।

महिन्दा राजापक्षे श्रीलंकाको दुई पटक राष्ट्रपति भइसकेका छन्। जब गोटाबाया राजपाक्षे विदेशमन्त्री थिए, श्रीलंकाको गृहयुद्धको अन्तिम चरणमा उनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लगाइएको थियो। 

श्रीलंकामा इस्टर चर्चमा भएको बम विष्फोटको महिनौँपछि २०१९ मा राजपाक्षेले चुनाव जितेका थिए। उनले जनतालाई बलियो शासन दिने वाचा गरे।

राजपाक्षेलाई भोट नदिने रोसिन्ता भन्छिन्, ‘मानिसहरुले उनलाई सुरक्षा दिनेछन् भन्ने सोचेका थिए तर त्यसो भएन। उनीहरु सबै कुरामा असफल भएका छन्। म यो परिवारको कारणले मेरो देश बर्बाद भएको हेर्न चाहन्न। सत्ताको यति लोभ छ कि अझै पनि कुर्सीमा बस्न सक्छन्।’

देशव्यापी विरोधको ज्वाला गत बिहीबार राष्ट्रपति राजापक्षेको निवाससम्म पुगेको थियो। राजधानी कोलम्बोमा उनको घरबाहिर भएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। भीडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। प्रहरीले दर्जनौँ प्रदर्शनकारी र पत्रकारलाई पनि पक्राउ गरेको छ।

कोलम्बोमा रहेको युरोपेली संघको प्रतिनिधिमण्डलले ट्विट गर्दै श्रीलंका प्रशासनलाई ‘जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्न’ आह्वान गरेको छ। यसमा असहमति व्यक्त गर्ने र शान्तिपूर्ण बैठकहरु गर्ने अधिकार पनि समावेश छ।

मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले पक्राउ परेकाहरुलाई उत्पीडन गरिएको जनाएको छ। 

श्रीलंकाको पश्चिमी प्रान्तबाट शनिबार राति र आइतबारका बीचमा कर्फ्यु उल्लंघन गर्ने ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। २९ वर्षीया सतसारा भन्छिन्, ‘जीवनमा पहिलोपटक म आन्दोलनमा सामेल भएको छु। यस्तो अवस्थामा कसरी हाम्रो सपना पूरा गर्ने ?’

सतसारा भन्छन्, ‘दैनिक बिजुली जान्छ र बढ्दो मुद्रास्फीतिका कारण बैंक ब्यालेन्स घट्दै गएको छ। यो सबै सम्हाल्ने सरकार दिनुहोस्। वर्तमान सरकारलाई हाम्रो चिन्ता छैन।’ –बीबीसीबाट भावानुवादित