काठमाण्डौ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले आगामी ६ महिनाका लागि अत्यावश्यक वस्तुको परिपूर्ति गर्न श्रीलंकालाई ५ बिलियन डलर आवश्यक पर्ने बताएका छन्। 

श्रीलंकाको संसदलाई सम्बोधन गर्दै प्रधामन्त्री विक्रमासिंघेले खाद्यान्न, इन्धन र रासायनिक मलका लागि ५ बिलियन डलर आवश्यक पर्ने बताएका हुन्। विक्रमासिंघेले इन्धन आयातका लागि ३.३ बिलियन, खाद्यान्नका लागि ९०० मिलियन, रासायनिक मलका लागि ६०० मिलियन र खाना पकाउने ग्यासका लागि २५० मिलियन डलर आवश्यक पर्ने बताएका छन्।  

७० वर्षयताकै खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको श्रीलंकाले गत मे महिनामा आफ्नो इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ऋणदातालाई ऋण तिर्न नसक्ने जनाएको थियो। 

श्रीलंकाले रासायनिक मलको खरिदका लागि भारतको एक्जिम बैंकबाट ५५ मिलियन डलर ऋण लिने निर्णय गरेको छ।

श्रीलंका बेलायती उपनिवेशबाट सन् १९४८ मा स्वतन्त्र भएपछिकै खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। कोरोना महामारी, ऊर्जाको बढ्दो मूल्य र लोकप्रिय कर कटौतीका कारण श्रीलंकाको अर्थतन्त्र प्रभावित बनेको छ। श्रीलंकाको मुद्रास्फीति दर ३९.१ प्रतिशत पुगेको छ। त्यस्तै राजधानी कोलोम्बोमा खाद्यान्नको मूल्य ५७.४ प्रतिशतले वृद्धि भएको छ। 

अर्थमन्त्रीसमेत रहेको विक्रमासिंघले आगामी महिना अन्तरिम बजेट ल्याउने तयारी गरेका छन्। देशमा खाद्यान्नको अभाव बढेको भन्दै गत महिना श्रीलंकाका कृषिमन्त्रीले किसानहरुलाई धानको उत्पादन उल्लेख्य रुपमा बढाउन निर्देशन दिएका थिए। 

यस्तै श्रीलंका सरकारले भ्याटदर ८ देखि १२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ। यसले श्रीलंंकाको आय ६५ बिलियन श्रीलंकन रुपैयाँले बढ्ने अनुमान गरिएको छ। यस्तै अक्टोबरदेखि कर्पोरेट ट्याक्स पनि २४ देखि ३० प्रतिशतले बढाइने जनाइएको छ। –एजेन्सी