काठमाण्डौ । श्रीलंकाको इतिहासमा पहिलोपटक सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जनता राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा प्रवेश गरी दुवै भवनलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पस्न नपाउँदै राष्ट्रपति गोटाबाया राजापाक्षे शनिबार दिउँसो राजभवनबाट निस्किएका थिए। उनी अहिले कहाँ छन् भन्ने यकिन हुन सकेको छैन। प्रदर्शनकारी प्रधानमन्त्रीको निजी निवासमा प्रवेश गर्दा त्यहाँ पनि कोही थिएनन्। प्रदर्शनकारी अझै पनि राष्ट्रपति भवनमा उपस्थित छन्। जसका कारण राष्ट्रपति कार्यालयमा कुनै पनि औपचारिक काम हुन सकेको छैन। 

यसका साथै प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि शनिबार राजीनामा दिन तयार रहेको घोषणा गरेका थिए। यस्तो अवस्थामा अहिले देशको नेतृत्वमाथि प्रश्न उठेको छ। देशको नेतृत्व कसले गर्ने भन्नेमा धेरै अड्कलबाजीहरु भइरहेका छन् ?

श्रीलंकाको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने ठूलो प्रश्न हो।

खासगरी श्रीलंका ऐतिहासिक आर्थिक संकटको घडीबाट गुज्रिरहेको छ। खाना र पेय पदार्थको अभाव, इन्धन नपुगेको र औषधिसमेत नपाउँदा जनताले समस्या भोगिरहेका छन्।

प्रश्न १. गोटाबाया राजापाक्षे अब के गर्नेछन् ? 

गोताबाया राजपाक्षे हाल आफ्नो सरकारी निवासमा छैनन्। उनको कार्यालय पनि आन्दोलनकारीको कब्जामा छ। जसका कारण राष्ट्रपतिले कुनै पनि औपचारिक काम गर्न पाएका छैनन्। श्रीलंकाको राजनीतिलाई नजिकबाट थाहा पाएका राजनीतिक विश्लेषक निक्सन भन्छन्, ‘अब उनीसँग राजीनामा दिनु विकल्प छैन।’

प्रश्न २. गोटाबायाले राजीनामा दिएमा के हुन्छ ?

श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएमा प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। तर उनको नियुक्ति अनुमोदनका लागि एक महिनाभित्र संसद बैठक बस्नु अनिवार्य छ। अन्यथा उनी पदमा रहन सक्दैनन्।

प्रश्न ३. रनिल विक्रमासिंघले संसदमा समर्थन पाउलान् ? 

निक्सनको विश्वास छ कि यो हुन सक्छ भन्ने कुनै भर छैन। ‘संसदमा आफ्नो पार्टीको एकमात्र सदस्य हो। विपक्षी दलहरु उनको विरुद्धमा छन्। विपक्षी दलको नेतृत्व सजित प्रेमदासले गरिरहेको छ। संसदमा २२५ मध्ये ११३ सांसदको समर्थन रहेको उनको दाबी छ।’

प्रश्न ४. रनिल विक्रमासिंघे राष्ट्रपति बन्न असफल भए के हुन्छ?

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीपछि सभामुख राष्ट्रपति हुने घोषणा गर्न सकिन्छ। अहिले महिन्दा याप्पा अभयवर्धन सभामुखमा छन्। उनी गोटाबायाको टोलीबाट हुन्। यस्तो अवस्थामा विपक्षी दलका नेताहरुले उनको समर्थनमा जाने आशा निकै धमिलो हुन्छ। तर, संविधानअनुसार सभामुखपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि राष्ट्रपति बन्न सक्नेछन्। यसका लागि पनि संसदले प्रस्ताव पारित गर्नुपर्छ। यस्तो अवस्थामा विपक्षी दलको सहयोग आवश्यक हुनेछ।

प्रश्न ५. प्रतिपक्षको योजना के छ ?

सजित प्रेमदासको एसजेपी र जेभीपीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार गठन गर्ने घोषणा गरेका छन्। आफूलाई ११३ जनाको समर्थन रहेको उनको दाबी छ। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले आ–आफ्नो पदबाट राजीनामा दिनुपर्ने पनि माग गरेका छन्।

प्रश्न ६. यदि गोटाबायाले राजीनामा दिन अस्वीकार गरे भने के हुन्छ?

निक्सन भन्छन्, ‘यस्तो अवस्थामा राजनीतिक संकट बढ्छ। तर, यदि उनले पद छाड्न अस्वीकार गरे भने केही गर्न सकिँदैन। समस्या यो पनि छ कि उनले राष्ट्रपतिमा रहँदा कुनै काम गर्न सक्दैनन्। किनकि उनको कार्यालय आन्दोलनकारीको कब्जामा छ।’

निक्सन पनि सत्तामा रहन सेनाको सहयोग लिने सम्भावनालाई अस्वीकार गर्दैनन्।

प्रश्न ७. सर्वदलीय सरकार गठनको सम्भावना छ ?

यो पनि विपक्षी दलहरुको हातमा छ। किनभने यसअघि बोलाइएको सर्वदलीय बैठकमा विपक्षी दल सहभागी भएनन्। तर, आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्नेमा उनी गम्भीर छन्।

प्रश्न ८. निर्वाचनको घोषणा हुने सम्भावना छ ?

अहिले त्यस्तो कुनै सम्भावना देखिँदैन। श्रीलंका पहिले नै आर्थिक संकटसँग लडिरहेको छ। सरकारसँग चुनाव गराउन पैसा छैन। त्यसैले चुनावको सम्भावना कत्ति पनि छैन।

प्रश्न ९. राष्ट्रपति परिवर्तनले आर्थिक संकट समाधान हुन्छ ?

अहिले अत्यावश्यक सेवा र सुविधाका लागि पनि सरकारसँग पैसा छैन। अस्पतालमा औषधि छैन। इन्धनको अभाव छ। खाद्यान्नको अभाव छ। अवस्था यति नाजुक छ कि सरकारी कार्यालय र विद्यालय बन्द गर्नुपरेको छ।

यस्तो अवस्थामा श्रीलंकाको राष्ट्रपति को बन्छ भन्ने कुराले के फरक पार्छ। ‘श्रीलंकाको आर्थिक अवस्था तुरुन्तै परिवर्तन हुने सम्भावना छैन’, निक्सन भन्छन्, ‘राजनीतिक संकट रहिरह्यो भने आईएमएफलगायतका वित्तीय संस्थाबाट आर्थिक सहयोग पाउन पनि गाह्रो हुनेछ।’ –बीबीसीबाट भावानुवादित