काठमाण्डौ । आज बिहान काठमाण्डौबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजमा उडेको केही समयमै इन्जिनमा समस्या देखिएपछि फर्काए काठमाण्डौमै ‘फोर्स ल्यान्डिङ’ गर्यो। उक्त उडानमार्फत बालबालिकादेखि वृद्धवृद्धासम्मका ७८ जना यात्रु सवार थिए। जहाज उडेको २० मिनेटमै काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

विमानमा सवारमध्ये एक थिए, पूर्वबैंकर तथा शुभलक्ष्मी उद्योगका प्रबन्ध सञ्चालक (एमडी) राजाराम खड्का । उनले भैरहवाका लागि बिहान ७ः ३० बजेको फ्लाइट भए पनि ९ः३८ बजेमात्रै काठमाण्डौबाट उडेको बताए। ‘जहाज उड्दाखेरी नै ब्यालेन्समा थिएनजस्तो महसुस भइरहेको थियो तर पनि यस्तो भइरहन्छ भन्ने लागेको थियो’, उनले भने, ‘जहाज उडेको १०–१२ मिनेटपछि एउटा इन्जिन फेल भएकाले हामी काठमाण्डौ नै फ्लाइट डाइभर्ट गर्दैछौँ भनेर अनाउन्स गरियो।’

विमानको बायाँतर्फको पंखा घुमिरहेको र दायाँतर्फको पंखा नघुमेको खड्काले बताए। ‘त्यसपछि यात्रुहरुबीच कोलाहल मच्चियो, सबै के भयो के भयो भनेर आत्तिरहेको अवस्था थियो’, उनले भने, ‘भगवानको नाम जपिरहेको अवस्था पनि थियो, अबको १२ मिनेटमा काठमाण्डौ ल्याण्ड गछौँ भनिसकेपछि झनै डरलाग्दो परिस्थति भयो।’

विमानस्थलले फोर्स ल्यान्डिङका क्रममा आगलागीको सम्भावनालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरुलगायत अरुको पनि व्यवस्था गरेको थियो। विमानमा आगो लागेको र धुँवा पनि नदेखेको खड्काको भनाइ छ। ‘तर, क्रु मेम्बरले चाहिँ फायर इन्डिकेसन देखिएको बताएका थिए’, उनले भने। 

त्यसपश्चात भैरहवाका जाने यात्रुहरुका लागि श्री एयरलाइन्सककै अर्को जहाजमा पठाइएको खड्काले जानकारी दिए।