काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आउँदो पुस ११ गते शुक्रबार काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बेक्वेंटमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिने अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने वा गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने प्रक्रिया पारित गर्नेछ । यो प्रक्रियाअन्तर्गत संस्थाको चल चल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धित समझदारीपत्र तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पूरा गरी सोमा हस्ताक्षर गर्नेलगायत गाभ्ने गाभिने वा प्राप्ति गर्नेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय पनि सभाले गर्नेछ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १३ प्रतिशत लाभांश पारित हुनेछ । जसमा चुक्तापुँजीको १०.६५ प्रतिशतले हुन आउने नगद लाभांश र २.३५ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।

यसैगरी सभाले बोनस सेयर वितरणबाट कम्पनीको साविक जारी तथा चुक्त पुँजी ८१ करोड रुपैयाँलाई वृद्धि गरी ८२ करोड ९० लाख ३५ हजार कायम हुने गरी प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्न स्वीकृत प्रदान गर्नेछ ।

सभामा छलफल गरी वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।

यसैबीच संस्थाले साधारणसभा प्रयोजनार्थ पुस १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अब मंसिर ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र संस्थाको साधारणसभामा भाग लिन पाउनेछन् भने गत वर्षको लाभांशको पनि हकदार बन्न पाउनेछन् ।