काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज साउन ४ गतेबाट १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा ३ लाख ६५ हजार ३९७ आवेदकबाट ४२ लाख ७१ हजार ४४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.८८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी २ लाख २७ हजार २ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट आवेदन दिन सक्नेछन्। सीडीएसीको मेरो सेयरमार्फत अनलाइन आवेदन दिने व्यवस्था गरिएको छ। 

यो आईपीओमा साउन ८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। 

श्वेत–गंगा हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।