काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ। 

श्वेत–गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

यो कम्पनीले गत साउन ४ गते साउन ८ गतेसम्म १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

क्यापिटलका अनुसार यो आईपीओमा १५ लाख ४३ हजार ९४५ आवेदकबाट कुल १ करोड ७० लाख ७२ हजार ८७० कित्ता सेयर माग भएको थियो। तीमध्ये १५ लाख ३९ हजार ५०५ आवेदकबाट परेको १ करोड ७० लाख १५ हजार ७९० कित्ता सेयर मात्र सदर भएको छ। बाँकी ४ हजार ४४० आवेदकबाट माग भएको ५७ हजार ८० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसअनुसार भाग्यमानी २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये २० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने भाग्यमानी ५ जनाले थप १–१ सेयर पाएका छन्। 

यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १३ लाख १२ हजार ५०३ जनाको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिन्छ। सीडीएससीको https://iporesult.cdsc.com.np बाट पनि नतिजा हेर्न सकिन्छ।