काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरुले बताइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो संक्रमण दर घटाउन र संक्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि तीव्र बनाइएको जनाएको छ।

काठमाण्डौसहित केही स्थानमा पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका मानिसहरुलाई बुस्टर मात्रासमेत उपलब्ध गराउन थालिएको छ। अतिरिक्त मात्रा विशेषगरी अग्रपङ्क्तिमा रहेका, दीर्घरोगी र वृद्धवृद्धामा केन्द्रित छ।

संक्रमणको त्रास र त्यसले निम्त्याउने जोखिमबाट जोगिने प्रयासबीच संक्रमण भएको कति दिनपछि बूस्टर मात्रा लगाउनु उपयुक्त हुन्छ भन्ने विषयमा मानिसहरुमा चासो बढेको छ। संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार संक्रमण दर बढेसँगै आममानिसले खोपसम्बन्धी प्रश्न सोध्ने क्रम बढेको छ।

संक्रमण भएको कति समयमा खोप लगाउन मिल्छ?

सामान्य अवस्थामा संक्रमण भएको तीनदेखि छ महिनासम्म कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने विज्ञहरु बताउँछन्।

डा. अधिकारी भन्छन्ः ”संक्रमण भएपछि व्यक्तिको शरीरले भाइरसविरुद्ध प्राकृतिक रूपमा काम गर्छ। त्यसैले खोपका लागि ढुक्कसँग तीनदेखि छ महिना कुर्दा हुन्छ।”

अर्का संक्रामक रोग विज्ञ डा. अनूप सुवेदी भने दुई महिनापछि खोप लगाउन हुने बताउँछन्। उनले बीबीसीसँग भने, “ओमिक्रोनको लहर उर्लिएर आउँदा बूस्टर मात्रा लगाउन पाए संक्रमण भइहाल्दैन कि भन्ने हेतुले खोप लगाउन थालिएको हो। यदि अहिले कसैलाई संक्रमण भइसकेको छ भने खोप लगाउन हतार गर्नु पर्दैन।”

अहिले सङ्क्रमित भएका मानिसहरुमा विकास हुने एन्टिबडीका कारण एकदेखि दुई महिनाभित्र फेरि संक्रमण हुने सम्भावना शून्यप्रायः रहेको सुवेदी बताउँछन्।

अहिले लगाएको खोपले नयाँ संक्रमणविरुद्ध काम गर्छ या गर्दैन यकिन गर्न नसकिने भएकाले पनि संक्रमण भएकाले खोप लगाउन हतार गर्नु नपर्ने उनको तर्क छ। उनले भने,”कहिले कस्तो खालको भेरिएन्ट आउँछ थाहा छैन। त्यसविरुद्ध अहिले लगाएको बूस्टरले खोपले काम नगर्न सक्छ। फरक खोप लगाउनुपर्ने हुनसक्छ।“

संक्रमणपछि कुन समूहले खोप लगाउने?

रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुले भने संक्रमणमुक्त भएको दुई सातापछि खोप लगाउन मिल्ने विज्ञहरुको सुझाव छ।
किमोथेरापी गराइरहेका क्यान्सरका बिरामी, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी र ज्येष्ठ नागरिकहरुमा संक्रमणले दिने सुरक्षा कम हुने भएकाले उनीहरुले संक्रमणमुक्त भएको १४ दिनपछि खोप लगाउन हुने डा. सुवेदीको सुझाव छ। “उक्त समूहले कोरोनाभाइरस संक्रमणको लक्षण देखिएको १० दिन पूरा भयो, ज्वरो आएन, शरीरमा अक्सिजनको मात्रा घटेन र लक्षणमा सुधार आयो भने दुई साता कुरेर खोप लगाउँदा हुन्छ,” उनले भने।

लक्षण देखिएर संक्रमण पुष्टि नहुँदा के गर्ने?

कसैलाई कोरोनाभाइरस संक्रमणको लक्षणसँग मिल्दो स्वास्थ्य समस्या देखिएको छ। तर संक्रमण पुष्टि भएको छैन भने ती व्यक्तिले पनि खोप लगाउन नहुने डा. सुवेदी बताउँछन्। “परिवार वा नजिकका कसैलाई संक्रमण भएको छ। त्यो अवस्थामा तपाईँलाई लक्षण छ, तर परीक्षण गर्दा संक्रमण पुष्टि भएन भने पनि तपाईँले आफूलाई सङ्क्रमित नै हुँ भन्ने बुझ्नुपर्छ,” उनले भने,”सङ्क्रमित सरह सावधानी र सुरक्षा अपनाउनुपर्छ। खोप लगाउनु हुँदैन।“

डा. अधिकारी पनि सङ्क्रमितको निकट रहेको र लक्षण देखिएको अवस्थामा एन्टिजन र पीसीआर दुवै विधिबाट परीक्षण गर्न सुझाव दिन्छन्। उनका अनुसार लक्षण देखिएर पनि संक्रमण पुष्टि नभए इन्फ्लूएन्जा परीक्षण गर्नु उचित हुन्छ। “इन्फ्लूएन्जा पनि प्रमाणित नभए चिकित्सकीय हिसाबमा त्यो कोभिड-१९ नै हो। त्यसैले स्वास्थ्य अवस्था ठिक नभएसम्म खोप नलगाएको राम्रो,” डा. अधिकारीले भने।
खोप लगाउनुको प्रभाव कस्तो?

अस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र कोभिशील्ड खोपको पहिलो मात्रा लगाउँदा धेरै मानिसमा ज्वरो आउने, ज्यान दुख्ने र जाडो हुनेजस्ता समस्या देखिएको थियो। ती समस्या एकदेखि दुई दिनसम्म रहन्थ्यो।

दुवै मात्रा खोप लगाएको लामो अन्तरालमा तेस्रो मात्रा लगाउँदा स्वास्थ्यमा त्यस्तै सामान्य लक्षण देखिन सक्ने चेतावनी समेत दिइएको छ। “खोप लगाएपछि ज्वरो आउने ज्यान दुख्ने हुन्छ। तर खोकी लाग्नु, घाँटी दुख्नु, रुघा लाग्नु वा नाकबाट पानी बग्नु भने खोपको प्रभाव होइनन्। ती लक्षण देखिए अहिलेको अवस्थामा संक्रमण नै भएको मान्नुपर्छ,” डा. सुवेदीले बताए।

ओमिक्रोन भेरिएन्टले विगतका भेरिएन्टभन्दा मध्यम खालका लक्षणहरु देखाइरहेको छ। यद्यपि तेज गतिमा फैलिरहेका यस भाइरसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ। खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरुका लागि यो चिन्ताको विषय रहेको छ।

के हुन् त अहिले देखिएको संक्रमणका लक्षण?

नाकबाट पानी बग्ने, टाउको दुख्ने, मध्यम वा गम्भीर रूपमा शरीर गल्ने, घाँटीमा असहजता, हाच्छिउँ आउने र खोकी लाग्ने अहिलेको लहरको लक्षणहरु भएको विज्ञ बताउँछन्। संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन भन्छन्- “शरीर तातेकोजस्तो हुने, नाकबाट पानी बग्ने, शरीर गल्ने, घाँटीमा अप्ठेरो भए संक्रमण भएको हुनसक्छ।” – बीबीसी नेपाली सेवाबाट