काठमाण्डौ । कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्य लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विपक्षमा रहे पनि पक्षमा रहेका सीमित कांग्रेस नेतामध्येका एक स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद गगनकुमार थापाले महाअभियोग लगाउने विषय स्वाभिमानसँग जोडिएको दाबी गरेका छन् ।

भारतीय डिजाइनमा लोकमानको नियुक्ति भएकोतर्फ संकेत गर्दै उनले कार्कीको नियुक्तिमै मुख्य दलका शीर्ष नेताहरु गम्भीर रुपमा चुकेका दाबी पनि गरे ।

गत बुधबार दर्ता भएको महाअभियोग प्रस्तावको बिषयमा मंगलबारदेखि संसदमा सुरु भएको छलफलमा बोल्दै थापाले भने–‘पूर्व राष्ट्रपति रामवरण यादबले भन्नुभयो हामीले सकेनौं, हामी हार्यौं । सभापतिज्यूले भन्नुभयो, हामीले सकेनौं, हामी हार्यौं । हामी हारेको कोसँग हो ? हामीले नसकेको कोसँग हो  ? त्यसैले यो प्रश्न स्वाभिमानको हो ।’

उनले आफूहरुले त्यतिबेलै कार्कीलाई संवैधानिक निकाय अख्तियारमा नियुक्ति नगरौं भने पनि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले नमानेका दाबी गरे । उनले थपे–‘त्यस्तो निर्णय हुँदैन भन्नुभयो । हामी राष्ट्रपति कहाँ पनि गयौं । उहाँले पनि त्यस्तो निर्णय हुँदैन भन्नुभयो । भोलिपल्ट अचानक कार्कीको नियुक्ति भयो ।’

थापाले कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले दलहरुलाई फेरि एकठाउँमा ल्याइदिने सम्भावना रहेको दाबी गरे । ‘भूकम्पले सबै दलहरुलाई एकै ठाउँमा ल्याइदिएको थियो। अहिले राम्रोसँग एक अर्काबीच बोलीबचन समेत एक अर्कालाई गर्न नसकेका राजनीतिक दलहरुलाई यो प्रकरणले एकै ठाउँमा ल्याइदिनसक्छ । यसमा डराउनुपर्ने, तर्सिनुपर्ने केही छैन।’

संसदमा महाअभियोग प्रस्ताव सबैभन्दा पहिले आफूहरुले प्रवेश गराएको स्मरण गर्दै उनले  प्रस्तावक भयौं भनेर कसैले फुली लगाउनुपर्ने आवश्यकता नरहेको र ढिलो भयौं भनेर कसैले लुघतावास गर्नुपर्ने स्थिति नरहेको दाबी गरे ।