काठमण्डौ । विकास बैंकहरुले संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बुँदे सुझावमा यस्तो माग गरिएको हो। 

एसोसिएसनले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ४ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न सुझाव पठाएको छ। 

यस विषयमा एसोसिएसनले औचित्य र कारण पनि प्रस्ट गरेको छ। 

बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार सञ्चालन भएको १० वर्ष पूरा गरिसक्दा एक बलियो संस्था भइसकेको हुने र अन्तर्राष्ट्रिय अभ्यासअनुसार वित्तीय कारोवार सञ्चालन गरेको १० वर्ष पूरा गरेको तर सञ्चित नोक्सानीमा नरहेको बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण संस्थापक सेयरलाई सर्वसाधारण समूहमा परिणत गर्न सकिने नीतिगत व्यवस्था गर्नु उपयुक्त हुने एसोसिएसनको तर्क छ। 

यसो गर्दा सेयरहोल्डिङ कुनै एक–दुई समूहमा केन्द्रित नभई विविधीकरण हुने र छरिएर रहेको पुँजी व्यावसायिक कार्यका लागि जुट्ने एसोसिएसनको भनाइ छ।