काठमाण्डौ । तारा एयरको विमान अन्तिम पटक सम्पर्कमा आएको क्षेत्रमा प्रहरीको एक टोली पुगेको छ । 

हेलिकोप्टरबाट ५ प्रहरीको टोलीलाई लेते छेउमा रहेको लार्के डाँडा क्षेत्रमा अवतरण गराइएको हो । 

प्रहरी नायव निरीक्षक रामबहादुर खत्री नेतृत्वको ५ प्रहरीको टोलीले स्थानीय गोठाला, स्थानीयवासी, जनप्रतिनिधिसहितको ठूलो टोली बनाएर खोजी कार्यलाई तीव्र पारेको मुस्ताङ प्रहरीका प्रवक्ता राजकुमार तामाङले बिजशालालाई जानकारी दिए । 

उनका अनुसार बिमान सम्पर्कबिच्छेद भएको भनिएको क्षेत्रमा अहिले बाँक्लो कुहिरो लागेको छ भने तीव्र वेगको हावा पनि चलिरहेको छ । हावा धेरै चल्ने ठाउँ भएकोले हेलिकोप्टरको आवाजलाई पनि स्थानीयले हावा चलेको आवाजको रुपमा लिनसक्ने अवस्था रहेको उनले जानकारी दिए । 'त्यहाँ हावाको आवाज नै हेलिकोप्टरको जस्तो सुनिन्छ ।' तामाङले भने-'यहीकारण पनि खोजी कार्य प्रभावित भएको छ । स्थानीय पनि झुक्किइरहनुभएको छ ।'