काठमाण्डौ । अर्थतन्त्रले सकस व्यहोर्न थालेको छ । 

राष्टबैंकको गलत नीति तथा सरकारको सुस्तता लगायतका कारणले अर्थतन्त्रमा समस्या देखिन थालेको हो । 

अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटान्स घट्न थालेको छ भने शोधानान्तर स्थितिको घाटा बढ्दै गइरहेको छ । 

राष्टबैंकको अनुसन्धान विभागले सोमबार साँझ सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो २ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी रिपोर्टमा अर्थतन्त्र सकसपूर्ण हुँदै गएको देखिएको हो । 

यो अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।

आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढेको छ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा चालु खाता रु.१०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ । समीक्षा अवधिमा सञ्चित मुद्रा ११.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा सञ्चित मुद्रा ६.७ प्रतिशतले घटेको छ ।
संघीय सरकारको खर्च रु.८९ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१६८ अर्ब ५८ करोड छ । 

विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको छ । 

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल आन्तरिक कर्जा ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा यस्तो कर्जा ३१ प्रतिशतले बढेको छ । यसले सरकार आफैं कर्जा उठाउन आक्रामक बनेको देखिन्छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ६.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१.७ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३२.५ प्रतिशत छ ।