काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकैदिन आफ्नो वार्षिक साधारणसभा डाकेका छन्। 

दुवै कम्पनीको मंगलबार (माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले आफ्नो वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेका हुन्। जसअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारणसभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभो क्याटरिङ र सगरमाथा इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुनेछ। 

दुवै सभाले आपसमा मर्ज हुने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि तय गरिएको सगरमाथाको १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको १०० कित्ताबराबर ८० कित्ता अर्थात १००ः८० सेयर स्वाप रेसियो पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले मर्जरसँग सम्बन्धित अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय कार्यालय वा अन्य नियामक निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। 

यसैगरी सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १२.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। सभाले बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सोही सभाले कम्पनीको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ माघ २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।