काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ। 

कम्पनीले गत चैत ८ गतेदेखि भने बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

सगरमाथा जलविद्युतको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार शनिबार (चैत ११ गते) साँझसम्म यो आईपीओमा ११ लाख ४८ हजार ६७९ आवेदकबाट कुल १ करोड २९ लाख ६७ हजार ६३० कित्ता सेयर माग भएको छ। यस हिसाबले यो आईपीओमा ३.६२ गुणा बढी आवेदन परेको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

सगरमाथा जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।