काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सजकताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुलाई आग्रह गरेको छ। 

एनबीएले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो। अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न प्रलोभनमा पारी ठगिरहेको एनबीएले जनाएको छ। 

‘अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउनेजस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएको छ।’

यस्ता विषयमा सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न पनि एनबीएले आग्रह गरेको छ। ‘त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नहुन आग्रह गर्दछौँ’, एनबीएले भनेको छ।