काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ । 

सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच पछिल्लो समय बाक्लिएको भेटघाट र छलफलबाट केही सकारात्मक घटनाक्रम विकास हुने सम्भावना बढेर गएको हो । 

पछिल्लो समय हिजो(बिहीबार) र आज(शुक्रबार) दुवै नेताबीच आगामी राष्टपतिको उम्मेद्वार, सत्ता सहकार्यमा आएका समस्याहरुको समाधान, सरकारको पूर्णता लगायतका विषयमा सकारात्मक कुराहरु हुन थालेका हुन् । 

जारी बाक्ला भेटघाटलाई निरन्तरता दिंदै दुवै अध्यक्षहरु एकअर्कालाई भेट्न दैनिक धाइरहेका छन् । हिजो केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेट गर्न पुगेका थिए भने आज प्रचण्ड ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । 

आजको भेटघाटपछि सत्ता गठबन्धनमा देखिएको अविश्वासको खाडल केही भए पनि पुरिएको विश्वास गरिएको छ । ओलीलाई भेटेर फर्किदै गरेका प्रधानमन्त्री प्रचण्ड निकै खुशी मुद्रामा पत्रकारहरुसँग प्रस्तुत भएका थिए । 

उनले बालकोटबाट निस्कने क्रममा अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले जे छ, त्यस्तै रहन्छ । हामी मिलेरै अगाडि बढ्नेछौं । गठबन्धन तत्काल टुट्ने, भत्किने भन्ने कुरै छैन । राष्ट्रपतिको विषयमा पनि हामी छिट्टै सहमतिमा पुग्नेछौं । 

एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धन एकाएक बनेर प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित हुँदै गर्दा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । एमाले सोही सहमति कार्यान्वयनमा अडिग देखिएको छ । तर, पछिल्लो समय माओवादीले भने राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने प्रस्ताव अगाडि बढाइरहेको छ । कांग्रेसले एकाएक प्रचण्डले समर्थन दिएपछि माओवादीको बोली फेरिएसँगै सत्ता गठबन्धनमा अविश्वासको बिजारोपण भएको थियो ।