काठमाण्डौ । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको बुद्घशान्ति गाँउपालिका–६, शान्तिनगर, गौंडामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५६ पुगेको छ । बैंकले बुद्घशान्ति गाँउपालिका–६, शान्तिनगर¬–गौंडामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ । 

आज मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुद्घशान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौलाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेज बहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।