काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५,माझगाउँ, नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको जनाएको छ ।

गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक  दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष  अनन्तराम नेपालले गर्नु भएको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।