काठमाण्डौ । ब्याजदर युद्धको सुरुवात गर्दै असोजमा निक्षेपको ब्याज बढाउने सनराइज र सानिमा बैंकले अन्य बैंकको करिब ३० अर्ब निक्षेप खोसेका छन् ।

कात्तिकमा अन्य बैंकले ब्याजदर ह्वात्तै बढाउँदा सिंगल डिजीट कायम गरेर भद्रता देखाउनुपर्नेमा जोड दिएका नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष समेत रहेका सानिमा बैंकका सीइओ भूवन दाहालकै कारण ब्याजदरको युद्ध चर्किएको असोज महिनाको तथ्यांकले देखाउँछ । 

उनले धेरै ब्याज अफर गरेर अन्य सहकर्मी बैंकबाट १० अर्ब ६७ करोड बढी निक्षेप खोसेका देखिएको छ । 

त्यस्तै, असोज १ गतेदेखि लागू हुने गरी १० प्रतिशत बढी ब्याज निक्षेपमा अफर गरेको सनराइजले एक महिनाको अवधिमा अन्य बैंकबाट १९ अर्ब ६ करोड निक्षेप खोसेको देखिएको छ । 

असोज महिनामा अरुबाट निक्षेप खोसेर आफ्नो पोर्टफोलियो व्यवस्थापन गरिसकेपछि कात्तिकमा यी दुई बैंक ब्याजदर वृद्धिमा केही संयमित देखिएका हुन् । 

बढी ब्याजदर अफर गर्ने अर्को बैंक, प्राइमले पनि असोज महिनामा अरुबाट ९ अर्ब ७१ करोड बढी निक्षेप खोसेको छ । 

यसरी हेर्दा ब्याजदर बढाउने तीन बैंकले मात्र असोज महिनामा अन्य बैंकबाट करिब ४० अर्ब निक्षेप खोसेका छन् । 

यो अवधिमा एभरेष्ट बैंकको निक्षेप ६ अर्ब ७७ करोडले बढेको छ भने मेगाको ५ अर्ब ३४ करोड, एनसीसीको ६ अर्ब ४८ करोड, नेपाल बैंकको ७ अर्ब ६९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ६ अर्ब ३५ करोडले निक्षेप बढेको छ। 

असोज महिनामा ब्याजदर वृद्धिमा संयम देखिने एनआइसी एशियाको निक्षेप ३ अर्ब ४६ करोडले घटेको छ । संयम बनेको अर्को बैंक सिटिजन्सबाट पनि २ अर्ब ३२ करोड निक्षेप खोसिएको छ । 

कृषि विकास बैंकबाट १ अर्ब ८९ करोड निक्षेप यो अवधिमा घटेको छ भने स्ट्याण्डर्ड चार्टर्डबाट ८४ करोड बढी निक्षेप खोसिएको छ । 

कर्जा कसले कति बढाए ?
असोज महिनामा ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र सनराइज बैंकले सबैभन्दा धेरै कर्जा बढाएका छन् । 

कृषि विकास बैंकले १० अर्ब १ करोड, ग्लोबलले ११ अर्ब ४९ करोड र सनराइजले ११ अर्ब ६ करोडले कर्जा बढाएका छन् । यो अवधिमा एनआइसी एशियाको कर्जा ८८ करोडले घटेको छ ।