काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका नियुक्त भएका छन्। 

संस्थाको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा पुनः नियुक्त गरेको हो। योसँगै पौडेलको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ। 

सीईओ पौडेलको कार्यकाल आउँदो वैशाख ३१ गतेबाट सकिँदैछ। सञ्चालक समितिको आजको निर्णयबमोजिम आउँदो जेठ १ गतेदेखि लागू हुने गरी सीर्डओ पदमा पौडेललाई पुनः नियुक्ति गरिएको कम्पनीका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठद्वारा सूचनामा उल्लेख छ। 

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदैं प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ। उनी २०७४ जेठ १ गतेदेखि सबैको लघुवित्तमा सीईओका रुपमा कार्यरत छन्। 

नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी २०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। 

संस्थाले ०७८ चेैत्र मसान्त सम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल बिस्तार गरेको छ। सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ  भने संस्थाको लगानीमा रहिरहेको कर्जा रु. ३ अर्व १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ।