काठमाण्डौ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १७ गतेदेखि १९ गतेसम्म सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबासमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ।

तालिममा प्रशिक्षक महेन्द्र मल्लाह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी र राधे कृष्ण दत्त रहेका थिए। तालिममा करेसाबारीको परिचय, महत्वका साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारीजस्ता विषयमा सहभागीलाई जानकारी गराइएको थियो। 

तालिमका सहभागीहरुलाई चन्द्रनगर गाउँपालिका—३ कोरियाहीका स्थानीय ब्यवसायिक कृषक श्री मौजे लाल महतोको साढे दुई बिघामा फैलिएको कृषि फार्म अवलोकन गराइएको थियो। तालिमको उद्देश्य बारेमा संस्थाका बर्दिबास मुकामका सुपरीवेक्षण अधिकृत दिपकुमार चौधरीले प्रकाश पारेका थिए।