काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । 

एकातिरको कोभिड प्रभाव र अर्कोतर्फ नियामक नेपाल राष्ट्रबैंकले कार्यान्वयनमा ल्याएको कतिपय नियामकीय व्यवस्थाका कारण वाणिज्य बैंकहरुको नाफा तथा लाभांश क्षमतामा प्रभाव परेको देखिएको छ । 

अन्य त्रैमास र वर्ष झै यो पटक पनि खूद नाफा आर्जनमा नवील बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकको वितरणयोग्य मुनाफा पनि निकै लोभलाग्दो रहँदा लाभांश क्षमता पनि उच्च देखिएको छ । 

नवील बैंक ४ अर्ब ५० करोड नाफा कमाउँदै वाणिज्य बैंकहरुको यो सूचीमा नम्बर वान बनेको छ । गत वर्षको तुलनामा नाफातर्फ नवीलले ३० प्रतिशतको बढोत्तरी गरेको देखिएको छ। यो बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रहेको छ । नवील बैंकको लाभांश क्षमता ३१ प्रतिशत देखिएको छ । 

प्रतिसेयर आम्दानीतर्फ निजी बैंकमध्येकै सबैभन्दा राम्रो नवीलको रहेको छ । नवीलको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.५४ रुपैयाँ देखिएको छ । 
खूद नाफातर्फ ४ अर्ब १२ करोड आर्जन गरी ग्लोबल आइएमई बैंक दोश्रो नम्बरमा रहेको छ । चुक्तापूँजी धेरै रहेका कारण नाफामा दोश्रो नम्बर उक्लिए पनि यो बैंकको लाभांश क्षमता भने १२.७६ प्रतिशत मात्र छ । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ७९ करोड नाफा कमाउँदै तेश्रो बढी नाफा कमाउने बैंक बनेको छ । यो बैंकको लाभांश क्षमता भने सबैभन्दा उच्च ४४.४० प्रतिशत रहेको छ । इपीएस पनि सबैभन्दा उच्च ४१.३२ रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा खूद नाफातर्फ नेपाल बंगलादेश बैंक, कुमारी बैंक र प्रभू बैंकले राम्रो प्रगति गरेका छन् । कुमारी बैंकले गत वर्षको यही अवधिको तुलनामा ७२.७३ प्रतिशत, प्रभूले ६८.४५ प्रतिशत र बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएका छन् । 

इो अवधिमा २७ मध्ये ५ वाणिज्य बैंकको नाफा घटेको छ । सबैभन्दा बढी नेपाल एसबीआई बैंकको करिब ३८ प्रतिशतले नाफा घटेको छ ।  स्ट्याण्डर्ड चार्टर्डको २९.४९ प्रतिशत, एभरेष्ट बैंकको २७.३४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १३.२९ प्रतिशत र सेञ्चुरी बैंकको ६.७७ प्रतिशतले नाफा घटेको छ । 
कुल २७ बैंकमध्ये ७ वटाको लाभांश क्षमता सिंगल डिजीटमा सीमित बन्न पुगेको छ भने बाँकी २० वटाको लाभांश क्षमता डबल डिजीटको रहेको छ । 

पाँचवटा बैंकको लाभांश क्षमता २० प्रतिशतभन्दा माथि रहेको छ भने ४ बैंकको लाभांश क्षमता १५ देखि २० प्रतिशतको बीचमा रहेको छ । बाँकी ११ वटा बैंकको लाभांश क्षमता १० देखि १५ प्रतिशतको बीचमा रहेको छ । 

सबैभन्दा कम इपीएस सिभिल र सेञ्चुरी बैंकको क्रमशः ६.४७ र ८.३० रुपैयाँ रहेको छ । 

सबैभन्दा बढी इपीएस भएका ५ वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक(४१.३२ रुपैयाँ), नवील(३२.५४ रुपैयाँ), कृषि विकास बैंक(३०.६५ रुपैयाँ), सिद्धार्थ बैंक(२८.४७ रुपैयाँ) र एनआइसी एशिया बैंक(२८.११ रुपैयाँ) रहेको छ । 

वाणिज्य बैंकहरुले समीक्षा अवधिमा आर्जन गरेका खूद नाफा, नाफातर्फ भएको प्रगति वा अवन्नति, वितरणयोग्य मुनाफा र लाभांश क्षमता तथा इपीएस सम्बन्धी विस्तृत विवरण तलको टेबलबाट हेर्न सकिन्छ: