काठमाण्डौ । सबैभन्दा बढी भ्रष्टाचार साउथ सुडान हुने गरेको तथ्य सार्वजनिक भएको छ। 

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार १०० अंकमा ११ अंक प्राप्त गरी साउथ सुडान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका सूचीकृत भएको हो। 

प्रतिवेदनअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंकका साथसबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरुमा परेका छन्।

भ्रष्टाचार बढी हुने मुलुकहरुको सूचीमा नेपाल ११७ औँ स्थानमा परेको छ। नेपाललाई १०० अंकमा ३३ अंक दिइएको छ। गत वर्ष पनि यो सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो। नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको बुझ्न सकिने ट्रान्सपरेन्सीले उल्लेख गरेको छ। 

प्रतिवेदनमा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता सन्देश दिएको उल्लेख छ। ट्रान्सपरेन्सीले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशिय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझावसमेत दिएको छ। 

दक्षिण एसियाली मुलुकहरुमध्ये भुटान ६८ अंकका साथ २५ औँ स्थान, माल्दिभ्स ४० अंकका साथ ८५ औँ स्थान, भारत ४० अंकका साथ ८५ औँ स्थान, श्रीलंका ३७ अंकका साथ १०२ औँ स्थान, पाकिस्तान २८ अंकका साथ १४० औँ स्थान, बंगलादेश २६ अंकका साथ १४७ औँ स्थान र अफगानिस्तान १६ अंकका १७४ औँ स्थानमा छन्।