काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेसाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेसा रहेका नेपालका नाईहरुको व्यावसायिक विकासका माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

समझदारीपत्रमा युनियनका तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका छन्। हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेसालाई व्यवसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पूर्ण बैंकिङ सेवासुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ। साथै, बंैकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना बीमा लगायतका सुविधाहरु पनि प्रदान गर्नेछ। 

समझदारीअनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ। व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ। सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा र २५ हजार रुपैयाँबराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ। 

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यूआर कोडको व्यवस्था गर्नेछ र यसमार्फत कारोबार गरेबापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रतिकारोबार रु. ५ थप गरिदिनेछ। 

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी रु. ५० हजारदेखि रु. २ लाखसम्म सरल प्रक्रियाबाट सामूहिक लगानी गर्नेछ। साथै, आवश्यकताका आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ। ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ। 

दीर्घकालीन लक्ष्यअन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यावसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २ हजार सदस्यको खाता खोल्ने, देशभरका ५ हजार सदस्यहरुमा बैंकिङ तथा बीमा साक्षरता पुर्याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनरुत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ। 

नाई व्यावसायिक विकास अभियान नामकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाई व्यवसायलाई कानुनी रुपमा सुरक्षित, व्यवसायिक रुपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासका लागि नाई सहकारी, नाई उद्योग, नाई तालिम केन्द्र, नाई कल्याण कोषलगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।