काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले आज (शुक्रबार) बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कनसन्ट्रेटर, केही थान थर्मल थर्माेमिटर, सेनिटाइजर, अक्सिमिटरलगायत आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्नपश्चात गत वैशाख २ गतेदेखि समता घरेलु लघुवित्तको नामबाट राष्ट्रियस्तरको कार्यक्षेत्रसहित एकीकृत वित्तीय कारोबारको सुरुआत गरेको यस संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत करिब ४७ हजार सदस्यलाई लघुवित्त सेवा दिइरहेको छ। यसका साथै निकट भविष्य सातवटै प्रदेशमा वित्तीय संस्थाको शाखाहरु विस्तार गरी लघुवित्त सेवाको पहुँच अभिवृद्धि गर्ने योजना रहेको संस्थाको प्रबन्धक तथा कम्पनी सचिव विश्व श्रेष्ठले बताए। 

हाल २८ करोड ५६ लाख चुक्तापुँजी रहेको संस्थाको कर्जा लगानी २ अर्ब ५८ करोड रुपैयाँ र निक्षेप ९१ करोड ६० लाख रुपैयाँ रहेको छ।