काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ।

धुलिखेलमा संस्थाका अध्यक्ष डम्मरमणि थेवे लिम्बूको अध्यक्षमा सम्पन्न वार्षिक साधारणसभाले चुक्ता पुँजी रु. २८ करोड ५६ लाख २० हजार १६० को २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सर्वसाधारणका लागि २ लाख ४१ हजार २०० कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

सभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना निर्वाचन प्रक्रिया र सर्वसाधारण समूहबाट २ जना निर्विरोध जम्मा ६ जना सञ्चालक चयन गरेको छ। आज बसेको सञ्चालक समितिको बैठकले निर्वाचित सञ्चालकहरुमध्येबाट संस्थापक समूहबाट प्रतिनिधित्व गरेका डम्मरमणि थेबे लिम्बुलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गर्ने निर्णय गरेको छ। 

बैठकले स्वतन्त्र सञ्चालकका रुपमा निरन्जन पराजुलीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ। अन्य सञ्चालकमा संस्थापकबाट राजेश्वरप्रसाद आचार्य, हरिबहादुर भण्डारी र विश्वराम खड्का तथा सर्वसाधारणबाट भक्तराम खड्का र अनुपा ओझा छन्।