– अर्जुन तिमिल्सिना

काठमाण्डौ । आम्दानी र खर्च हरेक मानिसका लागि अपरिहार्य छ। संसारमा हरेक मानिसले आफ्नो आम्दानीअनुसार खर्च गरेका हुन्छन्। कति आम्दानी गर्दा कति खर्च गर्ने भन्ने विषय व्यक्तिको स्वभाव तथा उसको दैनिक जीवनशैलीमा भर पर्छ। 

खर्च र आम्दानीका विषयमा अमेरिकी बजारका बादशाह वारेन बफेटले भन्छन्, ‘जहिले पनि बचत गरेर बाँकी रहेको पैसामात्रै खर्च गर।’

पैसाको मूल्य जहिले पनि समयअनुसार कायम हुन्छ। यसैलाई आधार मानेर हरेक देशका केन्द्रीय बैंकले ब्याजदर तथा मुद्रस्फीति कायम गर्छन्। 

समयअनुसारको पैसा (टाइम भ्यालू अफ मनी) भन्नले के बुझिन्छ ?

पैसाको मूल्यलाई वर्तमान मूल्य र भविष्यको मूल्य गरी दुई तरिकाले हेर्न सकिन्छ। समयअनुसार पैसाको मूल्य फरक–फरक हुन्छ। आजको १ हजार रुपैयाँ र १ वर्षपछिको १ हजार रुपैयाँको क्रयशक्ति एउटै हुँदैन। अर्थात् आजको १ हजार रुपैयाँमा किनेको कुनै समान १ वर्षपछि त्यति नै मूल्यमा किन्न सकिन्न। किनकि वस्तुको मूल्य बढिसकेको हुन्छ। 

कुनै पनि बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज दिने गरी बैंकमा राखियो भने त्यो एक वर्षपछि १ हजार रुपैयाँको १० प्रतिशति ब्याजसहित १ हजार १०० रुपैयाँ हुन आउँछ। तर अहिलेको १ हजार रुपैयाँका मूल्य भने गत वर्षको तुलनामा बराबर हुँदैन। अथाव, पैसाको क्रयशक्ति घटेको हुन्छ। 

पैसाको व्यवस्थापनको मूलभूत सिद्धान्त भनेको लिने काम छिटो गर र दिने काम ढिलो गर भन्ने नै हो। पैसा जति चाँडो लिन सकियो त्यसलाई अर्काे काममा लगाएर वा बैंकमा राखेर कमाउन सकिन्छ। अर्कोतर्फ तिर्ने काम ढिलो हुँदा पनि सो रकम बैंकबाट झिक्नुअघिसम्म ब्याज कमाउन सकिन्छ। त्यसैले तिर्ने काम ढिला गर्न र भुक्तानी गर्दा नगद नदिई चेक तथा ड्राफ्टको प्रयोग गरिन्छ। खासगरी चेकबाट भुक्तान गर्दा शुक्रबार बिदाको अघिल्लो दिन तथा बैंकिङ समयपश्चात अकाउन्ट पेई चेक माध्यमबाट गरिन्छ। 

सेयरमा लगानी गर्दा पनि यो सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ।

मुद्रास्फीति भन्नाले के बुझिन्छ ?

सामान्य अर्थमा मुद्रास्फीति भन्नाले वस्तुको मूल्य बढ्नु र मुद्राको मूल्य घट्नुलाई जनाउँछ। वस्तुको मूल्य बढेपछि मुद्राको क्रयशक्ति घट्छ। विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्यका आधारमा केन्द्रीय बैंकले गणना गर्ने मुद्रास्फीतिले समग्र देशको औसत मूल्यवृद्धिलाई जनाउँछ। मुद्रास्फीति विभिन्न ठाउँमा फरक–फरक हुन्छ। खासगरी अत्यावश्यक वस्तु जस्तै– पेट्रोलियम पदार्थको मूल्य बढ्न गएमा ढुवानी खर्च बढेर मुद्राको आपूर्ति बढ्न थाल्छ र समग्र सबै क्षेत्रमा प्रभाव पर्छ। मुद्रास्फीतिलाई मूल्यवृद्धिको मापन गर्ने आधारमात्रै नलिई आम्दानी र खर्च व्यवस्थापनको आधारका रुपमा पनि लिनुपर्छ। एक व्यक्तिले आफ्नो जीवनयापनको स्तर कायम राख्न आफ्नो आम्दानीलाई मुद्रास्फीतिको दरमा बढाउन सक्नुपर्छ। अन्यथा उसले कि ऋण बाक्नुपर्ने हुन्छ कि त जीवनयापनको शैली घटाउनुपर्छ।