-भक्तराज रसाइली
काठमाण्डौ । समयमै लाभांश घोषणा र साधारणसभा नगर्ने बीमा कम्पनीहरुमाथि कडाई गरिने भएको छ । 

नियामक वीमा समितिले आगामी आर्थिक वर्षदेखि साधारणसभा र लाभांश घोषणामा ढिलाइ गर्ने वीमा कम्पनीहरुलाई कडाइ गर्न नीतिगत व्यवस्था गर्न लागेको हो ।

बिमा समितिले साउनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैमा समयमै लाभांश घोषणा नगर्ने र साधारणसभा समेत नगर्ने विकृति अन्तका लागि नियमनकारी कैंची चलाउन लागिएको हो ।  

वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले वीमा कम्पनीहरुले एक्चुरी रिपोर्टको प्रतिवेदन ढिलाइका वहानामा साधारणसभा समयमै नगर्ने र लाभांश घोषणामा भएको ढिलाइ गर्ने परिपाटी मौलाएकाले कठोर कदम चाल्न लागिएको जानकारी दिए । 

निर्जीवन वीमा कम्पनीभन्दा जीवन वीमा कम्पनीहरुले भदौ÷असोजलाई क्लोजिङ्ग मानेर साधारणसभा गर्न ढिलाइ गरिरहेको विषयमा समिति जानकार भएकाले यो परिपाटीलाई निरुत्साहित गर्न लागिएको अध्यक्ष चापागाइले प्रष्ट पारे । 

वीमा कम्पनीहरुले क्लोजिङ्ग समय धकेल्दा कम्पनीले नाफा देखाउने गलत मनसायले प्रश्रय पाएपछि समितिले सजग हुँदै कडा नीतिगत व्यवस्था हुन लागेको चापागाईँले बिजशालालाई बताए । 

अधिकांश वीमा कम्पनीहरुले साधारणसभामा ढिलाइ हुनुमा एक्चुरी रिपोर्टको बहाना बनाइन्थ्यो । कम्पनीहरुको संस्थागत सुशासन र जवाफदेहिताप्रति वीमा समितिले गर्न लागेको भनिएको नीतिगत व्यवस्था र कडाईले वीमा कम्पनीहरुले गर्ने फट्याईँमा नियन्त्रण आउने र यसले समग्र वीमा कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण समेत बढ्ने आशा गरिएको छ ।