काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ताबापतको रकम समयमै दाखिला गर्न करदातालाई ताकेका गरेको छ। 

आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ताबापत अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो। चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ताबापतको कर रकम दाखिला गर्ने समय चैत मसान्तसम्म रहेको छ। 

यसका साथै यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्तभित्र गरिसक्न विभागले आग्रह गरेको छ। तोकिएको समयमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा तोकिएको कर र विवरण बुझाउन विभागले जनाएको छ। 

विभागका अनुसार समयमा कर नबुझाएमा प्रचलित व्यवस्थाअनुसार शुल्क, जरिवाना तथा ब्याज लाग्नेछ।